धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १४ गते । सप्तरी प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोप्य सूचनाको आधारमा तिलाठी कोइलाडी गाउँपालिका–४ तोपा बजार क्षेत्रमा चेकजाँच गरिएको थियो । भारदहबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ज ००४५ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारमा सवार व्यक्तिहरूको शरीरबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवार अनुरुध निरौलाको हुडीबाट सेतो प्लाष्टिकका दुई पोका भित्र राखिएको २०५ ग्राम ८२ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो । सोही क्रममा कारसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय चालक रजप आलम, विराटनगर महानगरपालिका–४ का ३२ वर्षीय निरौला र सोही स्थानका २१ वर्षीय निकेशकुमार शर्मा रहेका छन् । उनीहरुलाई तीन दिन अघि पक्राउ गरेर आइतबार साँझ सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूलाई सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।