नेपालगन्ज समाचारदाता
नेपालगन्ज, पुस १४ गते । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बांके जिल्ला समितिद्वारा तीन वटा कृति विमोचनसँगै परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, उपाध्यक्ष चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ गरी तीन वटा कवितासङ्ग्रहको विमोचन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वअध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरेले तीन वटै कृतिको विमोचन गर्नुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान बांकेका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक समालोचक डा. राजकुमार थारूले भरत रानाभाटको ‘ढुकढुकीमा देश’ कवितासङ्ग्रहको समीक्षा गर्नुभयो । यसै गरी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक डा. पुष्कर रिजालले भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ कृतिको समीक्षा गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक समालोचक डा. हरि तिमिल्सिनाले चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ कवितासङ्ग्रहका साथै अन्य दुई कृतिको पनि समीक्षा गर्दै तीन वटै कृतिमा देश र युगीन आवाज र आशावादी जीवनवादी दृष्टिकोणको अभिव्यक्ति भएको बताउँदै समाज सुधार, भ्रष्टाचारको अन्त्य र देशभक्तिको भावना व्यक्त भएको उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वअध्यक्ष प्राडा घिमिरेले एक साथ तीन कृति सार्वजनिक हुनुले बाँकेको साहित्य उर्वर रहेको प्रमाणित भएको बताउनुभयो । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्वक्याम्पस प्रमुख प्राडा गोपाल शर्मा अधिकारीले दुई वटा छन्द कवितासङ्ग्रह र एउटा गद्य कवितासङ्ग्रहले बाँकेको साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक नरेन्द्रजङ पिटर, खगेन्द्र कोपिला, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाट, करिष्मा योगी प्रतिष्ठान बाँकेका उपाध्यक्ष चन्द्रावती अधिकारीले कविता र साहित्य बारे आआफ्नो मन्तव्य राख्नुभएको थियो ।