• ८ असार २०८१, शनिबार

कांग्रेसको विभाग यथाशीघ्र गठन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभाग यथाशीघ्र गठन गरिने बताउनुभएको छ । पार्टीका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभापति देउवाले विभाग गठन चाँडै गरिने बताउनुभएको हो ।

साथै भ्रातृ र शुभेच्छुक संस्थाको परिमार्जित विधान पारित गर्ने सन्दर्भमा पनि उहाँले आन्तरिक परामर्श गरिरहनुभएको छ । सभापति देउवाको भनाइ उद्धृत गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, “विभाग गठन चाँडै हुन्छ । छलफल गरेर यथाशीघ्र टुङ्गोमा पुग्नुपर्छ ।”

सभापति देउवा आइतबार पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका पदाधिकारीसँग छलफल गर्नुभयो । यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकमा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभा सदस्य एवं कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गर्न बैठक बस्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तह निर्वाचनको विषयमा मिहिन ढङ्गले छलफल हुनेछ र आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुनेछ ।”

यसैबीच कांग्रेसका भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन गर्ने र पारित गर्ने सन्दर्भमा आइतबार पदाधिकारी बैठकमा छलफल भएको छ ।प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले विभाग गठनको गृहकार्य गरिरहँदा पदाधिकारी बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाको परिमार्जित विधान पारित गर्ने विषयमा छलफल भएको बताउनुभयो ।