• ८ असार २०८१, शनिबार

खेलाडीलाई मुख्यमन्त्रीको हौसला

blog

खेलाडीलाई हौसला दिँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।

कास्की, असार २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीहरूलाई उच्च मनोबल र उत्साहका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजना हुन लागेको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीहरूलाई बिदाइ गर्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो । “राष्ट्रपति रनिङ सिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरूले उच्च मनोवल र उत्साहसाथ प्रस्तुत हुनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो । 

खेलकुदको विकासलाई तीनै तहको सरकारले उत्तिकै महत्त्वका साथ अघि बढाएको उहाँले सुनाउनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्का संरक्षक समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले स्वस्थ र अनुशासित नागरिक उत्पादनका लागिसमेत खेलकुद उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो । खेलाडीको सफलतामाथि नै प्रदेश र सरकारको सफलता मापन हुने भएकाले पनि प्रदेश सरकार सधैँ खेलाडीहरूको सहयोगका लागि साथमा रहेको उहाँको भनाइ थियो ।

पोखरामा नवौँ राष्ट्रिय खेलकुद हुने भएकाले यो प्रतियोगितामा प्राप्त हुने सफलताले प्रत्येक प्रदेशवासीको सफलता र खेल जगत्को सफलता गाँसिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेलाडीहरूले पदक जितेर आउनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो । “सीमित स्रोत र साधनका बाबजुद खेलकुद परिषद्ले जसरी तयारी गरेको छ यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । यहाँहरूले पदक जितेर आउँदा स्वागत गर्न प्रदेश सरकार उत्तिकै आतुर पनि छ,” उहाँले भन्नुभयो । 

बिदाइ कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपाली राष्ट्रिय झण्डा र परिषद्को लोगो अङ्कित झण्डा गण्डकी प्रदेशका टिम लिडर तथा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो । काठमाडौँमा यही असार २८ देखि ३० गतेसम्म आयोजना हुने राष्ट्रपति रनिङ सिल्डमा विभिन्न छ खेलमा ९४ जना खेलाडीले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा छात्र र छात्रा एथलेटिक्स भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उसुका खेल हुनेछन् ।