• २८ वैशाख २०८१, शुक्रबार

सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित

blog

अविनाश चौधरी

धनगढी, असार २६ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक चौथो पटक स्थगित भएको छ । बजेटमाथि सहमति जुट्न नसकेपछि आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ल्याएको बजेटमा सहमति जुटाउन आइतबार विहान कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर सो बैठकमा बजेटमाथि सहमति जुट्न नसकेको जनाइएको छ । 

सहमतिका लागि बोलाइएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल र प्रदेश सभा सदस्यहरुबीच चर्काचर्की भएको बुझिएको छ । सहमतिका लागि बोलाइएको बैठकमै चर्काचर्की भएपछि प्रदेश सभाको बैठक सुचारु हुन नसकेको बताइएको छ । 

सोमबार विहान फेरि कार्य व्यवस्था परामर्श समितिको बैठक र अपरान्हतिर प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताउनुभयो । ‘आज बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि भोलि फेरि विहान सो समितिको बैठक बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘अब सम्वभतः सहमति जुट्छ र संसद पनि चल्छ ।’ 

प्रदेश सरकारले विधि, पद्धति र प्रक्रिया मिचेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको भन्दै सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुले बजेटको विरोध गरिरहनु भएको छ । उहाँहरुको चर्को विरोधका कारण अहिलेसम्म सभामा बजेटमाथि छलफल नै हुन सकेन । नेपाली काङ्ग्रेस संसदीय दलले परिमार्जन नभएसम्म बजेट पास हुन नसक्ने निर्णय गरिसकेको छ । 

असार महिनाभित्रै बजेट पारित गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । सो समय घर्किन लागेकाले प्रदेश सरकार र आर्थिक मामिला तथा योजनामन्त्रीलाई जसरी भएपनि बजेट सदनबाट पास गराउने दबाब परेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेट असारभित्रै पारित भइसक्नु पर्ने प्रावधान रहेको प्रवक्ता पालले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) ले बजेटको विरोध नगर्न ह्वीप जारी गरिसकेको छ । यद्यपि, सो पार्टीका प्रदेश सभा सदस्यहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने जिकिर गर्दै आइरहनु भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमा वित्तीय अनुशासन नभएकाले त्रुटिपूर्ण रहेको काङ्ग्रेस संसदीय दलले ठहर गरेको छ । प्रि–बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भएको तर बजेट अर्कै किसिमले आएको सो पार्टीले जिकिर गरेको छ ।