रमेश विश्वकर्मा
गुल्मी, पुस ४ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी–२ मा नेपाली कांग्रेसबाट १५ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन् । नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय वीपी स्मृत भवन तम्घासमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा उम्मेदवार सिफारिससम्बन्धी छलफलमा प्रत्यक्षतर्फ १२ जना र समानुपातिकतर्फ तीन जनाको दाबी प्रस्तुति रहेको छ ।
नेपाली कांग्रेस गुल्मी क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर– २ का अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम भएको क्षेत्रीय कार्यसमितिको बैठकमा आकाङ्क्षीहरू स्वयं आफै र वारेसमार्फत उपस्थित भएका थिए । उम्मेदवार हुनका लागि दाबी प्रस्तुत गरेका व्यक्तिहरुको नाम सङ्कलन गरिएको छ । प्रत्यक्षतर्फ भुवनप्रसाद श्रेष्ठ, डा. दामोदर भुसाल, प्रेमनारायण भण्डारी, प्रकाश पोख्रेल, कृष्णप्रसाद खरेल, कृष्णप्रसाद सापकोटा, सुदर्शन खनाल, माधवप्रसाद खरेल, धर्मराज पाण्डेय, सरिता पन्थी, हरिबहादुर खत्री र विष्णुप्रसाद अर्यालले उम्मेदवार हुन दाबी प्रस्तुत गर्नुभयो ।
यसैगरी, समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि चन्द्रबहादुर महत, कल्पना घिमिरे र नर्मता राकसकोटीले दाबी प्रस्तुत गर्नुभयो । कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको हुँदा क्षेत्रीय कार्यसमितिको पुनः बैठक बसी पार्टीको विधानसम्मत उम्मेदवारको नाम सिफारिस गरिने बताइएको छ ।