• ३१ वैशाख २०८१, सोमबार

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

blog

काठमाडौँ, असार २६ गते । निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले ‘भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् । यो प्रवृत्तिले सरकारी आवास गृह व्यवस्थापनमा खटिएका कर्मचारी आजित भइसेकका छन् ।

पछिल्लो पटक कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर जानुभएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए । 

कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर जानुभयाे

आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उहाँलाई ती सामग्री फर्काउन पत्राचार गर्यो । कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उहाँले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो । पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने गर्नुभएको छैन ।

यस विषयमा जिज्ञासा राख्दा पूर्वमन्त्री यादवले भन्नुभयो, “मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन । सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनू भनेर सहयोगीहरूलाई भनेको छु ।” उहाँले आफू स्थानीय तह निर्वाचनका बखत उपत्यकामा नहुँदा वासिङ मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गर्नुभयो । तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ । 

पूर्ववनमन्त्री रामसहाय यादवले पनि आवास छाड्दा सरकारी प्रिन्टर नभेटिएपछि सचिवालयले सोधखोज गरेको थियो । पछि वन मन्त्रालयका स्टोरकिपरले प्रोजेक्टरसँगै लगेको थाहा पाएपछि सचिवालयमै फिर्ता गरिएको छ ।  मन्त्री यादवका छोरा शत्रुघन यादवले आफूले क्वार्टरमा बुझाउनुपर्ने सबै सामान रुजु गरेर बुझाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रिन्टरबारे सचिवालय र मन्त्रालयबीच बुझाइमा फरक परेको रहेछ । जहाँको हो, त्यहीँ पुगिसक्यो ।” सचिवालयका स्टोरकिपर पोखरेलले पनि पूर्वमन्त्री यादवबाट प्रिन्टर फिर्ता भइसकेको जानकारी दिनुभयो । कार्यालयका स्टोरकिपर पोखरेलले भन्नुभयो, “कोही–कोही मन्त्रीका निजी सहयोगीले थाहा पाएर, नपाएर वा झुक्किएर यस्ता सामान लैजाने गरेपछि ताकेता गर्दा फर्काउने गरेका छन् ।

अहिले पनि लैजान नमिल्ने एकाध सामान लगिएको छ । त्यो फर्काउन भनेका छौँ । फर्किएला ।”सचिवालयका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर मचाकाजी महर्जनका अनुसार सरकारी आवासको सुविधा लिनेले त्यहाँका फर्निचर, विद्युतीय सामग्रीजस्ता खर्च नहुने वस्तु लैजान पाउँदैनन् ।