• १३ साउन २०८१, आइतबार

झोलुङ्गे पुल निर्माण सम्पन्न

blog

अँधेरी खोलामा निर्मित झोलुङ्गे पुल । तस्बिर : बाबुराम शर्मा

चरीकोट, असार २६ गते । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने अँधेरी खोलामा करिब ४७ लाख रुपियाँको लगानीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । संङ्घीय सरकारको ३९ लाख ६७ हजार ९८६, गाउँपालिकाको छ लाख छ हजार ८६८ र जनश्रमदान  ९३ हजार ३६४ गरी कुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाका असिस्टेन्ट सबइन्जिनियर रामाकाजी कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो पुल निर्माण भएपछि शैलुङ गाउँपालिका–१ र मेलुङ गाउँपालिका–७, साउतेका २८० घरधुरीका ५६० जना प्रत्यक्ष र रामेछाप जिल्लाका उपभोक्तासमेत लाभान्वित भएका छन् । यो पुल नबन्दा आवतजावत गर्न निकै अप्ठ्यारो थियो । अब जोखिमपूर्ण यात्राबाट मुक्त हुनुका साथै यात्राको दूरी छोटिएको छ । पुल निर्माण भएपछि घण्टौँ लगाएर अन्यत्रबाट हिँड्नुपर्ने बाध्यता हटेको छ । बाटो छोटिँदा समय बचत पनि भएको छ । काममा छिटोछरितोपन पनि आएको छ । 

यो पुल निर्माणका लागि ठेक्कामार्फत सामान ढुवानी गरिएको थियो भने अन्य निर्माणको काम उपभोक्ता निर्माण समितिले गरेको थियो । रामेछाप र दोलखाको शैलुङ तथा मेलुङ गाउँपालिका जोड्ने यो पुलको लम्बाइ ११५ मिटर र चौडाइ १०६ सेमी रहेको पालिकाका असिस्टेन्ट सबइन्जिनियर कार्कीले जानकारी दिनुभयो ।