• १३ माघ २०८२, मङ्गलबार

रैथाने बाली खोज्दै बेच्दै

blog

स्थानीय रैथाने बाली तथा अन्य उत्पादनका खाद्यवस्तु स्थानीयस्तरमा बिक्री गरिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ १३ गते । हुम्ला जिल्लाका स्थानीय रैथाने उत्पादन खोजी गरेर बिक्री गरिएको छ । यी सामग्री स्थानीयस्तरमा उपभोग गर्ने दर बढ्दै गएको र जिल्लाबाहिरसमेत निकासी हुन थालेपछि सिमकोटलगायतका स्थानीय बजारमा यसको खोजी गर्दै बिक्री गर्न थालिएको हो । 

पाँच क्विन्टल मह, दुई क्विन्टल मार्सी चामल, १० क्विन्टल सिमी, तीन क्विन्टल तितेफापर, डेढ क्विन्टल चिनोका चामल यो सिजनमा खोजी गरेर बिक्री गरिएको छ । सिमकोट गाउँपलिका–२ की पालाङ्बु लामाले स्थानीय रैथाने अन्नबाली खोजी खोजी बिक्री गर्ने क्रम बढेको बताउनुभयो । यी अन्नबालीका खाद्यवस्तु स्थानीयस्तरदेखि जिल्लाबाहिर बढी खपत हुन थालेपछि यी सामानको बिक्री पनि बढेको जानकारी उहाँले दिनुभयो । गत कातिकयता मात्रै २० लाखको रैथाने बालीका खाद्यवस्तु बिक्री गर्न सफल लामाले हाल पनि बिक्री जारी राख्नुभएको छ ।

सिमकोट बजारमा रैथाने उत्पादनका खाद्यान्न बेच्दै आएका व्यापारी गोर्ख बोहराले यी सामानको खोजी गर्ने कार्य बढिरहेको र ग्राहक पनि फोनमा सम्पर्क गरेर आउने भएका कारण बेच्न समस्या नभएको बताउनुभयो । उहाँले मह, सिमी, मार्सी र चिनोको चामललगायत खाद्य वस्तुको माग बढेको हुँदा उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । केही वर्षअगाडिसम्म स्थानीयले उपभोग गर्न छोडेको र बाहिर निकासी नै नहुने रैथाने बालीको महत्व, उपयोगिता र फाइदाबारे बुझ्दै जाँदा यसको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताउनुभयो । 

यसले व्यापारी र किसान दुवै पक्षलाई आर्थिक रूपमा फाइदा हुने गरेको बताउँदै उहाँले आफ्नो कार्यालय पनि रैथाने बालीको उत्पादन वृद्धिका साथै यसका बजारीकरणका लागि सहजीकरण गरिरहेको जानकारी दिनुभयो । हाल सिमकोटमा मात्र सात वटा रैथाने बालीका खाद्य सामग्री मात्रै बिक्री गर्ने पसल छन् भने अन्य पसलले पनि केही न केही त्यस्ता खाद्य सामग्री बिक्रीका लागि राखेका छन् ।