गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । नेपाली कांग्रेसले निर्वाचनको मैदानमा निश्चित सङ्ख्यामा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाउने वैधानिक व्यवस्था अनुसार मर्यादा र उच्च सम्मानको हेक्का राख्न परिपत्र गरेको छ । कांग्रेसले सबै कार्यसमितिलाई परिपत्र गरेर आचारसंहितामा उल्लेख गरिएबमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्न निर्देशन दिएको हो ।
कांग्रेसले राष्ट्रिय झन्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउने, उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुने र त्यस्तो नगर्न र गर्न नदिन आग्रह गरेको छ । साथै परिपत्रमा उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झन्डा बेर्ने कार्यले झन्डाको सम्मान नभई अपमान हुने भएकाले यस्तो नगर्न भनिएको छ । कांग्रेसले कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारीसाधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिह्नभन्दा माथि फहराउन निर्देशन दिएको छ ।