कविराज घिमिरे
हिले (धनकुटा)पुस १ गते । पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रको आधारका रूपमा रहेको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको तीन दशक भइसक्यो ।
यो अवधिमा ट्र्याक त खोलिएको छ तर सडक जीर्ण हुँदा यात्रा गर्ने यात्रु तथा पर्यटक निकै जोखिम मोल्न बाध्य छन् । कोशी राजमार्गको वसन्तपुर–मुढे खण्ड निर्माण भएसँगै २०५० सालतिरै यो सडक शिलान्यास गरिएको थियो ।
अहिले सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी परेका छन् । हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे यो सडक पार गर्न निकै ठुलो चुनौती झैँ लाग्छ । सडकको नाजुक अवस्थाका कारण पर्यटक गन्तव्यमा नपुगी फर्कनु परेको गुनासो सुनसरी इटहरीकी एलिसा कटुवालको छ ।
तेह्रथुमको वसन्तपुरदेखि गुफापोखरी २८ किलोमिटरको दुरीमा छ । गुफापोखरी पूर्वका धेरै पर्यटकको रोजाइमा पर्ने गर्छ तर सडकका कारण धेरै पर्यटक गुफासम्म पुग्नै सक्दैनन् । सडकको नाजुक स्थितिकै कारण तीनजुरे मिल्के क्षेत्रका पाँचपोखरी, चौकी, मङ्गलबारे गुफालगायतका पर्यटकीय क्षेत्र पनि सुनसान छन् । गुराँस फुल्ने सिजन, हिउँ पर्ने सिजन र दसैँतिहार आसपासको समयमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको थियो । सडकका कारण भने पर्यटक आधा बाटोबाटै फर्कने गरेको मङ्लबारेका स्थानीय मुरारी घिमिरे बताउनुहुन्छ ।
त्यसो त यो सडक गुफापोखरी हुँदै साँगु र फुङलिङसम्म पुग्छ । सवारीचालकका लागि यो मार्ग अझ चुनौतीपूर्ण बनेको छ । वसन्तपुरदेखि ताप्लेजुङसम्म गाडी चलाउने सवारीचालक विनोद बस्नेत भन्नुहुन्छ, “सडकको खराब अवस्थाका कारण गाडी पटक पटक बिग्रन्छन् । मर्मत खर्चले आम्दानीको सबै रकम सकिन्छ । दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।” बर्खायाममा त यो सडकमा हिँड्ने कल्पनै गर्न सकिन्न । पानी पर्नेबित्तिकै गाडी थन्क्याउनुपर्ने बस्नेतको भनाइ छ ।
सुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र सङ्खुवासभाले यो सडक हेर्दै आएको छ
जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की तेह्रथुम र ताप्लेजुङ जोड्ने यो मार्ग पर्यटन र व्यापारिक आवतजावतको मेरुदण्ड भएको बताउनुहुन्छ । सडक स्तरोन्नतिका लागि पटक पटक पहल गर्दा पनि हुन नसकेको उहाँको गुनासो छ ।