कालीकोट समाचारदाता
कालीकोट, पुस १ गते । भौगोलिक हिसाबले कालीकोट विकट छ तर पछिल्लो समय स्थानीय सरकार र विभिन्न सहयोगी निकायका सहयोगले गाउँ फेरिँदै गएका छन् ।
सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रागाउँले विकासको पूर्वाधारमा गति लिँदै छ भने मातृ स्वास्थ्य सेवाका लागि सुगमको पहिचान पनि बनाउँदै छ । गाउँपालिकाको वडा नं. ८ र ९ पर्ने मुम्रागाउँले संस्थागत सुत्केरीमा सबैको पहुँच पुर्याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुको अकालमा ज्यान गएको छैन भने दुई वर्षयता हवाई उद्धारसमेत गर्नु परेको छैन । सान्नीघाटदेखि नै जोखिमयुक्त कच्ची सडकले गाउँलाई जोडेको छ ।
सान्नीघाटदेखि सवारीसाधनमा मुम्रा पुग्न करिब दुई/तीन घण्टा लाग्छ । मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ११ जना सुत्केरी भइसकेका छन् । तीमध्ये एक जना १८ वर्षकी थिइन् । गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए ।
उहाँले अहिले गाउँमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको दाबी गर्नुभयो । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले सहयोग गरिराखेको छ । स्विस तथा ब्रिटिस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल’ कार्यक्रमले बर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ । कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको जानकारी दिनुभयो ।
डाँफे माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौरलाई घेरबार गरिएपछि दीर्घकालीन समस्या हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ । करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’ समेत निर्माण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ । मुडपानी मुम्राबिच गाउँ खानेपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रमको सहयोगमा सम्पन्न गरिएको र पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारीसमेत थालिएको उहाँले बताउनुभयो ।