गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरेको छ । आयोगले नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देल र उच्च सैनिका अधिकारीसँग सोधपुछ गरेको हो । जेनजी आन्दोलनमा भएका जनधनको क्षति र सुरक्षा निकायको भूमिका केन्द्रित रहेर आयोगले सैनिक अधिकारीसँग सोधपुछ गरेको हो ।
आयोग सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले सोधपुछ गरिएको बताउनुभयो । आयोगको आन्तरिक कार्यतालिका अनुसार सुरक्षा अधिकारीसँग सोधपुछ गरेको अब राजनीतिक तहका जिम्मेवार नेतालाई बयानका लागि बोलाइने उहाँले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग समेत आवश्यक लिखित कागजात माग गरेपछि आयोगले जिम्मेवार अधिकारीलाई बोलाएर सोधपुछ थालेको हो । आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतका फिल्ड कमान्डरसँग पनि बयान लिइसकेको छ ।
प्रवक्ता शर्माका अनुसार अब तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रमशः बयानमा बोलाउने तयारी छ । गठनका क्रममा तीन महिनाको समय पाएको आयोगको कार्यकाल पुस ५ गतेसम्म छ । घटनाका समयमा जिम्मेवार राजनीतिक अधिकारीकै बयानको क्रम बाँकी रहेकाले कार्यकाल थपको तयारीसमेत छ ।