राममणि दाहाल
मकवानपुर, मङ्सिर २९ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्युभएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उहाँसँगै शिकार गर्न हिँड्नुभएका मनहरी गाउँपालिका–६ बालुभञ्जाङका ५० वर्षीय सेते थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दुवै जनासँगै एक–एक थान भरुवा बन्दुक बोकेर जङ्गलमा शिकार गर्न जाँदै गर्दा उक्त घटना भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गोपाल अगाडि र सेते पछिपछि जङ्गलमा शिकार गर्न जाँदै गर्दा हिडिरहेको अवस्थामा गोपाल लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका सेतेलाई बन्दुकको गोली लागेर घटनास्थलमै आइतबार मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक बोगटीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
यसैबिच मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ स्थित कुडुलेमा एक घरमा विद्युत् सर्ट भएर गए राति आगलागी भएको छ । स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई आगलागी हुँदा करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरलगायतका सामान पूर्णरुपमा जलेको छ । प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।