• २९ वैशाख २०८१, शनिबार

बजेट परिमार्जन गर्नुपर्ने कांग्रेसको निर्णय

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, असार २५ गते । सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट परिमार्जन हुनुपर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास हुन नसक्ने भन्दै परिमार्जन गर्नुपर्ने निर्णय गरेको हो । 

संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, अम्बीकुमारी थापा, श्यामलाल राना थारु, डिल्लीराज पन्तसहित सात जनाको उपस्थिति रहेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले जानकारी दिनुभयो । 

‘यो बजेट विधि र पद्धतिअनुसार छैन’, उहाँले भन्नुभयो– ‘यथास्थितिमा पास हुन सक्दैन भनेर हामीले निर्णय गरेका हौं ।’ सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७६ करोड रुपियाँको बजेट ल्याएको थियो । सत्तारुढ दलकै प्रदेश सभा सदस्यले बजेटप्रति असहमति राखेपछि प्रदेश सभामा अहिलेसम्म बजेटमाथि छलफल हुन सकेको छैन । 

बजेटले वित्तीय अनुसाशन कायम नराखेको उल्लेख गर्नुहुँदै खड्काले बजेट आफैमा त्रुटिपूर्ण रहेको बताउनुभयो । ‘बजेटले सांसदलाई बाइपास गरेको छ । विषयगत मन्त्रालय र स्थानीय तहलाई बाइपास गरेको छ’, उहाँले भन्नुभयो, ‘बजेटको विधि, प्रक्रिया कुनै मापदण्ड छैन ।’ 

प्रदेश सरकारले बजेट ल्याउन प्रि–बजेटको औचित्य र सिद्धान्तमाथि छलफल गर्दा औपचारिकता निभाउने कार्य मात्रै गरेको काङ्ग्रेस संसदीय दलले ठहर गरेको छ । औचित्य र सिद्धान्तमा एउटा कुरा बोलेको तर बजेट अर्कै किसिमले आएको खड्काले बताउनुभयो । 

‘प्रणाली प्रधान कुरो हो, व्यक्ति प्रधान होइन’, उहाँले भन्नुभयो– ‘बजेट विधि र पद्धतिअनुसार नभएकाले कांग्रेसले परिमार्जन गर्नुपर्ने निर्णय गरेका हो ।’