विजयकुमार साह
ढल्केवर, असार २५ गते । नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।
धनुषाको सबैला नगरपालिका –९ भठिहनका ५५ वर्षीय जयराम थवईले जहाँतहीँ खुलेका विद्यतीय मिल र गाउँघरमा समेत मसला पिँध्ने ‘ग्राइण्डिङ्ग’ मेशिन छ्यापछ्याप्ती भएकाले ढुङ्गा खोप्ने अनि जाँतो र सिलौटो बनाउने पुर्ख्यौली पेशा संकटमा परेको बताउनुभयो । विगत ३० वर्षदेखि यही पेशाबाट जीविकोपार्जन गर्दै आउनुभएका जयरामले भन्नुभयो, “पहिला–पहिला एक दिनमा १०–१२ वटासम्म सिलौटो र जाँतो बिक्थ्यो । तर अहिले मुस्किलले दुई वटा पनि बिक्दैन ।”
एउटा सिलौटोको मुल्य चार सयदेखि छ सयसम्म र जाँचोको मुल्य एक हजारदेखि एक हजार पाँचसय रुपियाँसम्म बिक्री हुने गरेकोमा लागत मुल्यसमेत असुलउपर हुँदैन । एउटा जाँतो कोप्न दिनभर लाग्नेगरेको उहाँको भनाइ छ । त्यस्तै, दिनभरमा दुई वटासम्म सिलौटो खोप्न सकिन्छ, जयरामले भन्नुभयो ।
आफूले गर्दैआएको पेशाबाट आम्दानी हुन छाडेपछि वैदेशिक रोजगारीको सिलसिलामा दुई पटक कतार गएको तर दुबै पटक स्वास्थ्य जाँचमा फेल भएपछि एक महिनामै फर्केर आउनुपरेकाले साहूको ऋण लागेको उहाँले सुनाउनुभयो ।
भठिहन चौकमा सानो छाप्रो हालेर ढुङ्गा खोप्दै आउनुभएका जयरामको सात जनाको परिवार छ । परिवारका सबै सदस्य यही पेशामा छन् । सिलौटा र जाँतो बनाउन गुणस्तरीय ढुङ्गा नेपालमा नपाउँदा बढी समस्या परेको उहाँहरुको भनाइ छ । उदयपुर जिल्लाको कटारीस्थित पहाडमा यस्तो ढुङ्गा पाउने गरेको भएपनि वन कर्मचारी र वन समितिले ल्याउन नदिएको जयरामले बताउनुभयो ।
जयरामको जेठो छोरा अजय थवईका अनुसार भारतको जयपुर र राजस्थानबाट ढुङ्गा आयात गरेर सिलोटो र जाँतो बनाउँदा लागत मुल्य बढ्न गई व्यापार घाटा हुनेगरेको छ । घोडा र गधालाई बोकाएर गाउँटोल चहारेर तथा पसल थापेर यी सामग्री बिक्री गर्दैआएका अयजले भन्नुभयो, “नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेकाले सरकारले मासिक भत्ता दिँदैआएको छ । आफ्नै नाउँमा जमिन उपलब्ध गराइदिएको भए घर बनाएर बस्थेँ ।” नेपालमा थवई जातिको सङ्ख्या दुई सय घरधुरी मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।