मरेर जाने आफन्तलाई असाध्यै माया गर्ने जातिमा कुलुङ पर्छन् भन्दा फरक पर्दैन । मरेर जाने आफन्तको मायाका कारण नै हो, कुलुङ जातिले मरेर जाने हरकोही आफन्तको लासलाई आदि अनादिकालदेखि नै आफ्नै करेसाबारी (घु¥यान) मा गाड्ने (सद्गत) गरेका छन् । त्यसो त कुलुङ जातिमा मृत्युसंस्कार पनि धेरै प्रकारका रहेका छन् । त्यसमा मुख्यतया दुई प्रकारका मृत्युसंस्कारको यहाँ उल्लेख गर्नैपर्ने हुन्छ । जस्तै अकालमा मरेकालाई गरिने सद्गतलाई कुलुङ भाषामा ‘हिल्सी’ भन्ने गरिन्छ । ‘हिल्सी’ भन्नाले रुख, भिरपहराबाट लडेर, सुत्केरी अवस्था, खोलानालामा बगेर, पोखरीमा डुबेर, आत्महत्या गरेर एवं अन्य दुर्घटनामा परेर मृत्यु भएका मृतकलाई बुझिन्छ, मानिन्छ ।
‘हिल्सी’ भएर मर्ने अर्थात् नराम्रो बाटोबाट मृत्यु हुने मृतकलाई मन्साउन, पन्साउन जटिल हुन्छ, उनीहरूले कडा भूतप्रेत (प्रेतात्मा) का रूप लिन्छन् भन्ने मान्यता रहेको छ । त्यसैले कुलुङ जातिमा चलिआएको मान्यता र परम्परा अनुसार अकालमा मरेका मानिसलाई चाहिँ माया गरिँदैन, त्यस्ता मृतकको लासलाई घरभन्दा टाढा जङ्गल वा ओडारमा लगेर चिहान खनेर चिहानमा सिस्नो, अन्य काँडा, सिसाको बोतल फुटाएर (टुक्राटाक्री पारेर) हालेर घोप्टो पारेर गाड्ने चलन छ ।
अर्को मृत्युको प्रकार हो, कालगतिले हुने मृत्यु । त्यस्तो मृत्युलाई ‘नसी’ भनिन्छ । नसीभित्र बिरामी भएर उपचार गर्दागर्दै ज्यान गएका, उमेर पुगेर मरेका आदि पर्छन् । त्यसरी कालगतिले मरेकालाई चाहिँ कुलुङ जातिले माया गरेर आफ्नै घरको करेसाबारी (घु¥यान) मा गाड्ने गर्छन् । त्यति मात्र होइन, मृतकका नाममा, चार पुस्ता चेलीका नाममा सेता आठ वटा ध्वजा चिहानवरिपरि फरहराइन्छ । त्यसलाई कुलुङ भाषामा ‘साङ’ भनिन्छ । मरेकालाई त्यसरी करेसामा गाडेर मात्रै पुग्दैन । एक चन्द्र–चक्र अर्थात् २८ दिनसम्म हरेक दिनको सूर्योदय र सूर्यास्तको समयमा आठ पटक गन्ती गरेर भात र आठ टुक्रा मासु चढाइरहनु पर्छ । त्यसैले आठ अङ्कलाई कुलुङ जातिमा अशुभ अङ्क मान्ने गरिन्छ । साथै जुन चेलीको नामकरण गरेर चिहानमा ध्वजा अर्थात् साङ फहराइन्छ, ती चेली एक पटक मृतकका घरमा अनिवार्य रूपमा आउनु पर्छ । ती चेलीले मृतकका परिवारलाई भेट्ने र मृतकलाई चेलीले पनि घरकाले जस्तै गरेर दुई पटक मासु र भात चढाउनु पर्छ । जुन मासु र भात चेलीले आफ्नै घरबाट ल्याएको हुनु पर्छ ।
एक/एक चन्द्र–चक्र अर्थात् २८ दिन हरेक सूर्योदय र सूर्यास्तका समयमा आठ पटक गन्ती चन्द्र–चक्र पूरा भएपछि मृतकको अन्तिम संस्कार गरिन्छ । त्यसलाई ‘सिलुम केइम/काइम’ भनिन्छ । सिलुममा सबै मलामी चोख्याउने र साङ काट्ने गरिन्छ । साङको नामकरण गरिएका सबै चेलीको शिर उठाउने गरिन्छ । त्यो प्रव्रिmयामा सहभागी हुन पाउने मृतकलाई भाग्यमानी मृत्यु हो भन्ने विश्वास कुलुङ जातिमा रहेको छ । अन्तिम संस्कार सकिएपछि पनि मृतकको सम्मान सकिँदैन । पत्रकार तथा लेखक विवश चेतन कुलुङका अनुसार त्यसपछि मृतकको अन्तिम बिदाइस्वरूप ‘खालकम’ गरिन्छ । त्यसपछि चाहिँ मृतकलाई सधैँका लागि परिवारजनले बिदा गरेको मानिन्छ ।
त्यस्तै गरेर कुलुङ जातिमा कसैको मृत्यु ‘नसी’ अनुसार नै भएको भए तापनि माथि उल्लेखित विधिले बिदा हुने अवसर सबै मृतकले पाउँदैनन् । जस्तो कि कसैको मृत्यु कालगतिले (‘नसी’ अनुसार) नै भए पनि ‘अभागी मृत्यु’ भन्ने गरिन्छ । प्रश्न उठ्छ, मृत्यु पनि भाग्यमानी र अभागी हुन्छ ? निश्चय नै कुलुङ जातिमा रहेको जनविश्वास अनुसार यस्तो हुन्छ ।
जस्तो कुलुङ जातिमा तीन पटक ‘तोस’ गरिन्छ । त्यसमध्ये जेठ महिनामा ‘येनाम तोस’ (उँभौली) गरिन्छ । येनाम तोस भनेको ‘बाधा’ अन्तर्गत हो । यसरी ‘बाधा’ को समयमा मर्नेहरू चाहिँ अभागी हुन्छन्, उनीहरूको मृत्यु नै अभागी मृत्यु हो ।
‘येनाम तोस’ पछि असोजको पहिलो हप्तासम्ममा ‘थो तोस’ गरिन्छ । यो तोस चाहिँ बाधा फुकाउने तोस हो । त्यस्तै फागुनमा ‘फुर तोस’ गरिन्छ । यो तोस चाहिँ खेतीबाली लगाउने, छरफोक गर्ने, अन्नबाली सप्रियोस्, वस्तुभाउ सप्रियोस्, सुक्खा वा भनौँ खडेरी नलागोस् भनी भूमि र आफ्ना पितापुर्खासँग आशीर्वाद माग्नलाई गर्ने गरिन्छ । ‘येनाम तोस’ र ‘थो तोस’ को बिचको समयमा मर्ने मृतक चाहिँ अभागी हुन् भन्ने गरिन्छ किनभने यसबिचमा मरेका मृतकलाई कुलुङ जातिले साधारण तरिकाले सद्गत गर्ने (चिहानमा गाड्ने) गर्छन् । त्यसैले कुलुङ जातिमा जेठ अन्तिमदेखि असोज पहिलो हप्तासम्म कालगतिले मरेका भए पनि उनीहरूलाई ‘अभागी’ रहेछ भनिन्छ, अभागी मान्ने गरिन्छ । किन अभागी त ? किनभने त्यो बेला कामको मौसम भएकाले हो । त्यसैले त कुलुङ जातिभित्र एक चर्चित उखान छ, ‘इपा इमा सिसो लिकलेइसम्म, सिबोआ देपाम्ना काम मम छुवे ।’ ‘इपा’ भनेको बुवा, ‘इमा’ भनेको आमा, ‘सिसो’ भनेको मरे पनि, ‘लिकलेइसम्म’ भनेको चार दिनसम्म एवं ‘सिबोआ देपाम्ना’ भनेको स्याउलाले छोपेर र ‘काम मम छुवे’ भनेको काम गर्नु पर्छ भनिएको हो ।
कुलुङ जातिमा कामको मौसममा आफ्नै आमाबुवाको मृत्यु भए पनि मृत्युसंस्कार गर्न छाडेर भए पनि काम गर्नु पर्छ भन्ने उखान प्रचलित रहेको थियो, छ । त्यसैले कुलुङ जातिमा जेठ अन्तिमदेखि असोज पहिलो हप्तासम्म कालगतिले नै मरेका भए तापनि उनीहरूलाई अभागी मानिन्छ तर आजभोलि चाहिँ यो उखान, उखानमै सीमित रहन थालेको छ । आजभोलि कुलुङ जातिमा कसैको मृत्यु भइहालेमा माथि उखानमा भनिए जस्तो काम गर्ने प्रचलन हराउँदै गएको छ । वर्षायामभरिको बन्देजपछि असोज पहिलो हप्ता हुने तोसले बन्देज खुलाउने काम गर्छ । त्यही भएर असोजको पहिलो हप्ताभित्र सबै कुलुङ गाउँमा ‘थो तोस’ गर्ने गरिन्छ । वर्षायामको बन्देजलाई सकेसम्म छोट्याउन भन्दै छिट्टै तोस गर्ने गरिन्छ । थो तोस गर्दा सबै मृतात्मालाई नोक्छो (पुजारी) ले बोलाउने गर्छन् । त्यसैले थो तोस गर्दा सो वर्ष मृत्यु भएका घरबाट एक चोक्टा मासु अनिवार्य रूपमा लानुपर्ने हुन्छ । जुन मासुको चोक्टालाई ‘छप्छौ’ भनिन्छ ।
त्यस्तै थो तोस गरेपछि हर्गेल (झ्याम्टा), पुङ (भैँसीको सिङ), दङ्गम (बिनायो), मुर्चुङ्गा, शङ्ख, बाँसुरी आदि बाजा बजाउने बाटो पनि खुल्छ । साथै कुलुङ संस्कार र संस्कृतिमा अनिवार्य मानिएको कचुर काट्ने र बोक्ने बाटो पनि खुल्छ । माटो र घर पालुवा जनावर बोक्न पाइन्छ । बर्खा लाग्नुअघि बन्देज गरिएका सबै खाना खान पाइन्छ । यसरी कुलुङ जातिमा जब असोजको थो तोस हुन्छ तब कुलुङ जातिभित्र सबै कामकारबाही गर्ने स्वतन्त्रता मिल्छ । त्यसैले ‘तोस’ केवल कुलुङ जातिको भूमि पूजा मात्रै नभए कुलुङ जातिलाई संस्कारभित्र बाँध्ने विधिविधानका रूपमा पनि रहेको देखिन्छ । कुलुङ जातिमा मृत्युपश्चात् आफ्नै करेसामा गाड्ने प्रचलनलाई सामान्य मानिन्छ । त्यसो गर्नुलाई कुलुङ जातिले मरेर गएका आफन्तलाई मृत्युपछि दिइने अतिरिक्त मायाका रूपमा हेर्ने गरिन्छ, बुझ्ने गरिन्छ । जसका कारणले गर्दा कुलुङ जातिका मानिसका घरनजिक एक वा दुई वटा चिहान रहेकै हुन्छ । यो केवल एक घरको कथा होइन, एक टोलको कथा मात्रै पनि होइन, कुलुङ जातिका सम्पूर्ण गाउँबस्तीको कथा हो । कुलुङ जातिमा परापूर्वकालदेखि नै मरेर जाने आफन्तलाई घरछेउ, करेसाबारी वा भनौँ घु¥यानमा गाड्ने प्रचलन रहेको छ ।
प्रचलनको सुरुवात
कुलुङ लोककथा अनुसार दुई जना सहाराविहीन दिदीबहिनी थिए । ती दिदीबहिनी सहाराविहीन भएकाले ती दुई दिदीबहिनीलाई गाउँकै एक जना मुमा (बोजु–हजुरआमा) ले पाल्न थालिन् तर उनी अर्थात् मुमा (बोजु–हजुरआमा) भनिएकी बुढीआमै त मानिस नभएर राक्षस रहेछिन् । फलतः मुमा (बोजु–हजुरआमा) ले एक रात बहिनीलाई मारेर दिदीलाई बहिनीको मासु खुवाइछन् । दिदी चाहिँले केको मासु ? भनी नसोधीकनै खान थालिछन् । मासु खाने क्रममा मान्छेको औँला भेटेपछि आफ्नै बहिनीको मासु हो भन्ने थाहा पाइन् । तुरुन्तै दिदीचाहिँ भागिन् । उनलाई आफ्नो बहिनीको असाध्यै माया लाग्यो, बहिनीको सम्झनाले सताइरह्यो । त्यसैले आफ्नी बहिनीको औँलालाई बहिनीको सिङ्गो शरीर सम्झेर खाल्डो खनेर माटोमुनि पुरेर माया र सम्मानसाथ राखिन् । खाल्डोमा पुरेर राखेको बहिनीलाई खाना पनि पु¥याइदिन थालिन् । दिदीले बहिनीलाई बिहानबेलुकै खाना पु¥याउन थालिन् । जसलाई कुलुङ भाषामा ‘सिलुम केइम÷काइम’ भनिन्छ । ‘सिलुम केइम÷काइम’ भन्नाले मृतकलाई पाल्ने एक चन्द्र–चक्र अर्थात् २८ दिनसम्म पाल्ने संस्कार हो । हुन त समयक्रमसँगै अन्यत्र यस्तो संस्कार हराए तापनि कुलुङ जातिको उद्गमस्थल महाकुलुङ, सङ्खुवासभा, भोजपुरलगायत क्षेत्रमा बसोबास गर्ने कुलुङमा यो संस्कार जीवितै रहेको छ ।
उता मनोविज्ञानको कुरा गर्दा कुलुङ बुढापाका उमेर बढ्दै गएपछि घरबाहिर जान चाहँदैनन् । त्यसैले धेरै जसोले वृद्धावस्थामा अस्पताल नलैजानु भनेर घरपरिवार तथा छोराछोरीसँग पहिले नै भनेका हुन्छन् । अहिले पनि कसैले वृद्धावस्थाका आफ्ना बिरामी बाबुआमालाई अस्पताल लान खोज्दा आफूहरू अस्पताल नजाने जिद्दी गर्ने गर्छन्, मरे पनि आफ्नै घरमा मर्ने कुरो गर्छन् । आफ्नो मृत्युलाई सहज रूपमा लिँदै आफ्नै निजी जमिनमा बस्न पाऊँ भन्ने गर्छन् । उनीहरूको मनोविज्ञान रहेको हुन्छ कि ‘बाँचिन्जेल जे गरियो, मरेर जाँदा केही लैजान नपाए पनि कम्तीमा आफ्नै निजी जग्गामा बस्न पाऊँ, आफ्नै जग्गा थिच्न पाऊँ !’ त्यसैले कथम्कदाचित् अस्पताल गएका बुढापाकाले पनि मलाई घरै फर्काएर गाड्नु है ! भनेर अन्तिम इच्छा जाहेर गर्ने गर्छन् ।
हुन पनि कुलुङ जातिमा एउटा भनाइ रहेको छ– कुलुङ जातिमा जोकोही मानिस जति नै हरिकङ्गाल भए पनि, अति खराब आर्थिक अवस्थामा जिउनु परे पनि, ऋणमा चुर्लुम्मै डुबेको भए पनि ‘सानो करेसाबारी’ बाँकी रहेकै हुन्छ । अथवा भनौँ कुलुङ जातिका मानिसले सबै चलअचल सम्पत्ति बेच्नु परे तापनि मर्ने बेला गाड्ने ठाउँ (एक टुक्रा जग्गा) चाहिन्छ भनेर कुलुङ समाजले नै सबै जग्गाजमिन बेच्न कसैलाई पनि अनुमति दिँदैन ।