काठमाडौँ, मङ्सिर २६ गते । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण अगाडि बढेको छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अगाडि बढेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले झापा–सिलिगुडी पेट्रोलियम पाइप लाइन विस्तारका लागि आइओसीले टेन्डर आह्वान गरिसकेको जानकारी दिनुभयो ।
भारतको सिलिगुडी–चारआली पेट्रोलियम पाइप लाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्ज–लोथर पाइप लाइन आइओसीको प्राविधिक र आर्थिक सहयोगमा निर्माण हुने जानकारी उहाँले दिनुभयो ।
पाँच वर्षभित्रमा पाइप लाइन परियोजना सक्ने गरी सम्झौता भएकोमा तीन वर्षभित्र सक्ने आइओसीका प्रतिनिधिले जानकारी गराएको उहाँको भनाइ छ । हालै आइओसीका प्रतिनिधिबिच भारतमा भएको भेटमा आइओसीका तर्फबाट पाइप लाइन निर्माण तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।
यस्तै मोतीहारीदेखि सर्लाहीसम्म खाना पकाउने एलपी ग्यास आयातका लागि अनुदानमा पाइप लाइन बनाउन आइओसीसमक्ष प्रस्ताव राखेको भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप लाइनबाट ग्यास आयात गर्दा वार्षिक पाँचदेखि छ अर्ब रुपियाँ ढुवानी रकम बचत हुन्छ ।” यस्तै बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तारका लागि जग्गा व्यवस्थापन गर्ने काम सकिएको निगमले जनाएको छ । पाइप लाइन आइओसीले बनाइदिने र लोथरमा भण्डारणगृह निगम आफैँले बनाउन लागेको हो । पाइप लाइनका तीन परियोजना आइओसीले १५ अर्ब रुपियाँमा निर्माण गर्ने छ ।
निगमले नौ अर्ब रुपियाँमा चितवनमा भण्डारणगृह निर्माण गर्ने छ । निगमका उपनिर्देशक रामहरि निरौलाले चितवनमा भण्डारणगृह (टर्मिनल) निर्माणका लागि जग्गाको स्तरोन्नति, रुख कटान र सडक पहुँच मार्ग विस्तार गर्ने काम भइसकेको जानकारी दिनुभयो । आगामी नौ महिनाभित्र पाइप लाइन बिछ्याउन सुरु हुने उहाँले जानकारी दिनुभयो ।
चितवनको पेट्रोलियम भण्डारणगृह भने निगमको नौ अर्ब रुपियाँ लगानीमा बन्ने छ । अमलेखगन्ज–लोथर ६२ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन निर्माण हुने छ ।
यस्तै भारतको सिलिगुडीमा रहेको आइओसी डिपोबाट झापाको चारआलीसम्म पाइप लाइनको ३५ किलोमिटर क्षेत्रफल भारतमा पर्ने छ भने १५ किलोमिटर नेपालतर्फ पर्ने छ । दुवै पाइप लाइनको निर्माण भारतीय लगानीमा हुने छ ।
निगमका कुल परियोजनाको दुई इन्धन भण्डारण डिपो (ग्रिन फिल्ड टर्मिनल) मध्ये एक नेपालले बनाउने छ भने एउटा भारतले नै बनाइदिने सम्झौतामा उल्लेख छ । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारणगृह निर्माण गरिने छ ।
यसअघि भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको हो ।
सुरुवाती चरणमा डिजेल र मटितेल पाइप लाइनमार्फत आयात गरिएकामा केही समयअघिदेखि पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याइएको छ ।