• २४ मङ्सिर २०८२, बुधबार

कृषि क्षेत्रको प्रवर्धनका लागि डाक्नेश्वरीमा एग्रो एक्सपो हुने

blog

छलफलमा सहभागी नगरप्रमुख रामलखन मलाहसहित उद्योग वाणिज्य संघका अधिकारीहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर २४ गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अगरवाल, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, युवा उद्योगपति तुलाकान्त मण्डल, युवा अभियन्ता अमरेन्द्र यादव लगायतको सहभागितामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि तयारी गर्न छलफल सुरु गरिएको हो ।

एग्रो एक्सपो २०८२ आयोजनाका लागि मङ्गलबार भएको छलफलमा अध्यक्ष अग्रवालले एग्रो एक्स्पो सफल बनाउन उद्योग वाणिज्य संघको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले यस्तो आयोजनाले जिल्लाको कृषि र उत्पादन क्षेत्रमा वृद्धि हुनुका साथै किसानहरुमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य संघका महासचिव अमृत संचेतीले सप्तरी जिल्ला कृषि र उत्पादनमा निकै पछाडी रहेको र यस्ता कृषि मुखी व्यपारिक एक्स्पोले यहाँका किसानहरु लाई थप प्रोत्साहित गर्ने बताउनुभयो ।

मधेश प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको एग्रो एक्सपोमा कृषि तथा व्यवसायिक क्षेत्रमा नयाँ अवसर पहिचान गर्न इच्छुक किसान, उद्यमी, व्यवसायी तथा युवाहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छलफलमा सहभागी युवा अभियन्ता अमरेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले छिट्टै बस्ने अर्को बैठकले मिति र समय निर्धारण गरी तयारी थाल्ने बताउनुभयो ।