• २४ मङ्सिर २०८२, बुधबार

विस्तारित सेवाले गलकोट नगर अस्पतालमा सेवाग्राही बढे

blog

नगर अस्पतालमा संस्थागत सुत्केरी सेवा लिनुभएकी एक महिला । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २४ गते ।
अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै २० जना महिलाले सेवा लिएका छन् । अपरेशन सेवा सुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउनेक्रम बढेको छ ।

नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले धौलागिरि अस्पतालपछिको महत्त्वपूर्ण सेवा दिने स्थानको रुपमा अस्पतालमा विकास भइरहेको बताउनुभयो । ‘‘अघिल्लो वर्ष २० जना सुत्केरीको मात्रै अपरेशन भएको थियो, अन्यले नर्मल सेवा लिएका थिए’’ डा. पौडेलले भन्नुभयो, ‘‘चालु वर्षको पहिलो चौमासिकमै अपरेशन गर्नेहरु २० जना पुगिभइसके ।’’ नियमित उपचार सेवाका लागि आउने सेवाग्राही पनि बढेको उहाँको भनाइ छ । 

हरेक सोमबार स्थानीय विष्णु काउचाले ट्याक्सी समेत निःशुल्क गराएपछि कतिपय गर्भवती र सुत्केरीहरु उपचारमा बढी आउने गरेका छन् । उक्त दिन प्रसुती सेवालाई बढी ध्यान दिने गरिएको पौडेलले बताउनुभयो । शल्यक्रियामार्फत सुत्केरी सेवासहित अस्पतालमा दर्जन बढी सेवा थपिएका छन् । पछिल्लो एक वर्ष अस्पतालमा रक्तसञ्चार, बालउपचार कक्ष, फिजियोथेरापी र प्रसुती प्रतिक्षा घरको सेवा समेत थपिएका हुन् ।

गलकोट समाज युकेको सहयोगमा अस्पतालमा ११ लाख लगानीमा फिजियोथेरापी कक्ष सञ्चालनमा ल्याइएको छ । पौडेलले उक्त समाजका सदस्यहरुलाई सम्पर्क गरेर अस्पतालमा सेवा भित्र्याउन पहल गर्नुभएको थियो । सो अभियानमा वडा नं. ५ का अध्यक्ष पवन हमाल, सामाजिक विकास समितिका संयोजक हिमबहादुर थापा र नगरप्रमुख भरत शर्मा गैरे तथा उपप्रमुख फमलाल निउरेले पहल गरेपछि फिजियोथेरापी सेवा सञ्चालनमा आएको हो ।

अहिले दैनिक बिरामीहरु अस्पताल आएर सेवा लिने गर्छन् । यसअघि शव गृह रहेको स्थानलाई मर्मत गरेर फिजियाथेरापी कक्ष बनाइएको हो भने शवगृह छुट्टै बनाइएको छ ।

फेयरमेड फाउण्डेसन नेपालको सहयोगमा सञ्चालित सम्बोधन परियोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले चार लाख रुपियाँ सहयोग गरेपछि स्थानीय र नगरपालिकाले थप ८ लाख लगानी गरी १२ लाखमा प्रसुती प्रतिक्षा घर बनेको छ । तीन परिवार एकैपटक बस्न मिल्ने गरी कक्ष बनाइएको हो । तीनवटै कक्षमा प्रसुती सेवा लिन आउने गर्भवती र उनका हेरालु बस्न मिल्ने कोठा र खाना पकाएर खाने चुल्होको पनि व्यवस्थापन भएको छ ।

अस्पतालमा हाल भिडियो एक्सरेसहित प्राविधिक सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आएको छ । एकीकृत रुपमा डाटाको सकलन गर्ने व्यवस्थापन पनि छ । ‘‘एक जना बिरामी आएर नाम ठेगाना बताएपछि उहाँले यसअघि सेवा लिएको विवरण समेत आउने गरी व्यवस्थापन गरेका छौं’’ डा. पौडेलले भन्नुभयो । कुनै बिरामीले  बिमा कार्ड नल्याएमा नाम ठेगाना लगायतको विवरणमा भिडेको खण्डमा सेवा पाउने व्यवस्थापन छ । यो विधिले बिरामीले कार्ड बोकेरै आउनुपर्ने बाध्यता समेत हटेको डा. पौडेलको भनाइ छ ।

अस्पतालले वार्षिक रुपमा ३० देखि ३५ हजार बिरामीको उपचार गर्दै आएको छ । अस्पतालको रुपमा काम गर्न थालेपछिका गतिविधिलाई लिपिबद्द बनाइएको छ । स्थानीय झप्परबहादुर बस्नेतले १० लाखभन्दा बढी लगानी गरेर अस्पतालमा कमर्चरीको व्यवस्थापन गरीदिएपछि तत्काल काजक्रिया गर्न नसकेकाहरुले शव राख्न पाएका छन् ।