गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने गरी सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोषको योजनामा सबै उद्योग व्यवसायलाई जोड्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सिएनआईका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारी अनुसार परिसङ्घले आफ्नो आबद्धतामा रहेका सङ्घ संस्था र उद्योग प्रतिष्ठानलाई श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनबमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सहजीकरण गर्ने उल्लेख छ । सोही अवसरमा कोषले उद्योग परिसङ्घसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
कोषका अध्यक्ष कृष्णहरि पुष्करले यस समझदारीले परिसङ्घमा आबद्ध सबै प्रकारका उद्योग प्रतिष्ठानलाई जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको आबद्धता बढाउन यो समझदारी महत्वपूर्ण कदम रहेको बताउँदै उहाँले श्रमिक तथा रोजगारदातामाझ सामाजिक सुरक्षा योजना अझै विस्तार हुने बताउनुभयो ।
परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले यस समझदारीपछि उद्योगसँग जोडिएका उद्योगीलाई कोषको योजनामा आबद्धता गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्यसेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ आठौँ सामाजिक सुरक्षा दिवसको नाराले निर्धारण गरेका लक्ष्यप्राप्तिमा पनि सहयोग पुग्ने विश्वास कोषले लिएको छ ।