गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । यस वर्षको ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘मानव अधिकार ः हाम्रा दैनिक आवश्यकताहरू’ नाराका साथ बुधबार विश्वभर मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको स्मरणमा हरेक वर्ष डिसेम्बर १० मा यो दिवस मनाइन्छ ।
मानव अधिकारको घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल्य वा जन्मका आधारमा कुनै भेदभाव नगरी विश्वका सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयले तोकेको नाराका अनुसार मानव अधिकारले सकारात्मक ऊर्जा दिनुपर्र्ने, मानव अधिकार अहरणीय अधिकारका रूपमा र समतामूलक समाज निर्माणको आधारका रूपमा रहेको उद्घोष गरेको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई नागरिकको समग्र अधिकार रक्षाको आधारशिलाका रूपमा मनाइँदै छ । नेपालको संविधान २०७२ ले मानव अधिकार घोषणापत्रलाई आधार मान्दै आफ्ना नागरिकलाई राजनीतिक, सामाजिक तथा मौलिक अधिकार सुनिश्चित गरेको छ । तथापि संविधानले तोके अनुसारको अधिकार प्रत्यायोजनका लागि आवश्यक सबै कानुन नबन्दा भएका अधिकारको समुचित प्रयोग गर्न नपाएको गुनासो नागरिकस्तरमा कायमै छ ।
सकारात्मक भूमिका आवश्यक
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिँदै मानवले मानव जस्तो भएर बाँच्न पाउने जीवनको आधार नै मानव अधिकार भएकाले यस दिवसलाई उच्च महìवका साथ लिइएको प्रस्ट पार्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोग गर्न अपिल गर्नुभएको छ । नेपालमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत विशेष चासोका साथ हेरिरहेको स्मरण गराउनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिकाको आवश्यकता छ ।” मानव अधिकार हरेक मानवको जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लिखित अधिकार नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पु¥याएको स्मरण गर्नुभएको छ ।
सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ, संस्था, सञ्चार माध्यम तथा निजी क्षेत्रको सव्रिmयताले कमजोर तथा जोखिममा रहेका समूहको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न विश्वका राष्ट्रको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने सुझाउनुभएको छ । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्ने भन्दै शुभकामना दिनुभएको छ । उहाँले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारमा सबै वर्ग, समुदाय र भूगोलको समान पहुँच सुनिश्चित गर्नुपर्ने अपरिहार्य रहेको बताउनुभएको छ । गत भदौमा जेनजीले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको उहाँले सन्देशमा औँल्याउनुभएको छ ।