• २५ मङ्सिर २०८२, बिहिबार

गाई दुहुन घरघरै पुग्छन् मुन्ना

blog

विराटनगर–५ स्थित रमा थापाको घरमा गाई दुहुँदै मो. मुन्ना

महेन्द्र विष्ट 

विराटनगर, मङ्सिर २४ गते । मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो । 

हातमा सिप र जाँगर भए भोकले मरिँदैन भन्ने भनाइलाई विराटनगर–५, विशाल चोकका २८ वर्षीय मो. मुन्नाले पुष्टि गर्नुभएको छ । दुध दुहुन पारङ्गत मुन्ना अचेल यही पेसा गरेर तीन जनाको परिवार धान्दै आउनुभएको छ । विगत १४ वर्षदेखि गाउँघरमा छरछिमेकले पालेका गाई दुहुने र त्यही पेसाको आम्दानीले परिवारको गुजारा टार्ने र बालबच्चालाई विद्यालय पढाउन मुन्ना सफल हुनुभएको छ । यति मात्र होइन, उहाँको हातमा राजमिस्त्रीको सिप पनि छ तर उहाँको मुख्य पेसा भने हालसम्म गाई दुहुने नै छ । उहाँ भन्नुहुन्छ, “म त सानैमा टुहुरो बने र पठ्न पाइन त्यही सम्झेर अहिले बालबच्चालाई दुःख गरेर अर्काको गोठ गोठ चहारेर भए पनि राम्रै ढङ्गले पठाइरहेको छु, घडेरी पनि जोडेको छु ।” 

मुन्नाको जीवनी अरू जोकोहीका लागि प्रेरणाको स्रोत बन्ने मुन्नालाई जान्ने बुझ्ने स्थानीय बताउँछन् । विराटनगर–५, विशाल चोकका लक्ष्मी खरेल भन्नुहुन्छ, “अभिभावकलाई दङ्ग्याएर वैदेशिक रोजगारीमा विदेश पलायल हुने युवालाई मुन्नाको जीवनीले राम्रो पाठ सिकाउँछ ।”

मुन्नाले एक वर्षअघिसम्म दैनिक २० वटासम्म गाई दुहुँदै आउनुभएको थियो । अहिले त्यो सङ्ख्या घट्दै आएको छ । अहिले उहाँ दैनिक आठ वटा गाई दुहुन घर घरमा पुग्नुहुन्छ । दैनिक चार घण्टा उहाँको काम गाई दुहेरै बित्ने गर्छ । बिहान ५ बजेदेखि ८ बजे र साँझ पाँचदेखि ७ बजेसम्म उहाँ गाई दुहुने गर्नुहुन्छ । गाई दुहेर उहाँले अहिले मासिक २५ हजार आम्दानी गर्नुहुन्छ । एउटा गाई दुहेको तीन हजारदेखि तीन हजार पाँच सयसम्म लिने गर्नुहुन्छ । एक वर्षअघिसम्म २० वटा गाई दुहुँदा राम्रै आम्दानी भएको पनि उहाँले बताउनुभयो । एउटै घरमा उहाँले बर्सौंदेखि दुध दुहुँदै आउनुभएको छ । 

गाई दुहेर छोरालाई स्कुल पढाउन र घर खर्च धान्न सकेको मुन्ना बताउनुहुन्छ । उहाँले गाई दुहेर कमाएको आम्दानीले विराटनगर–५ मा पाँच धुर घडेरी पनि खरिद गर्नुभएको छ तर पछिल्लो समयमा घरमा गाई पालेर दुध खाने परिवारको सङ्ख्या घट्दै जाँदा उहाँको आयस्रोत पनि कमी हुँदै गएको छ । हिजोआज घरमा वृद्धवृद्धा मात्रै हुने र गाई स्याहार गर्ने परिवारका सदस्य बिदेसिने कारणले गाई पाल्नेको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । गाई पाल्नेको सङ्ख्या घट्दै गए पनि अहिलेसम्म गाई दुहेरै जीवन निर्वाह भइरहेकाले अन्य पेसातिर आफूले तत्काल नसोचेको उहाँले बताउनुभयो । दिउँसोको समयमा गाईका लागि घाँस काट्ने र राज मिस्त्रीको काम पनि उहाँले गर्नुहुन्छ तर राजमिस्त्रीको काम नियमित नहुने मुन्ना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुध दुहुने काम दैनिक हुन्छ, मेरो बानी नै परिसक्यो ।”

आफ्नो घरमा मुन्नाले करिब सात वर्षदेखि गाई दुहुँदै आएको विराटनगर–५ की रमा थापा बताउनुहुन्छ । घरमा दुध दुहुने सिप भएका कोही नभएकाले मासिक पारिश्रमिक दिएरै राखिएको उहाँको भनाइ छ । दुई वटा गाई पाल्दै आउनुभएकी रमा भन्नुहुन्छ, “दुध दुहुन पनि राम्रो सिप हुनु पर्छ ।” घरमा गाई पालेर दुध खानुको आनन्द नै अलग्गै हुने थापाको भनाइ छ ।