• १३ साउन २०८१, आइतबार

जीर्ण पुल टिकटक स्थल

blog

सुदूरपश्चिमको गोदावरी नगरपालिका कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवस्थित छ । २०७३ फागुन २८ गते राजपत्रका आधारमा कैलाली जिल्लाको अत्तरिया नगरपालिकामा गोदावरी गाउँ विकास समितिलाई समेत मिलाएर अत्तरिया नगरपालिका वडा नं. ९, १०, र ११ लाई छोडी गोदावरी नगरपालिका निर्माण गरियो । हिन्दु धर्मावलम्बीहरूले गोदावरी क्षेत्रलाई पवित्र धार्मिक महत्त्व क्षेत्र मान्दै आएका छन् । 

परापूर्वकालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरी ज्ञान आर्जन गरेको, द्वापर युगमा पाण्डवजस्ता तपस्वीसमेत यस क्षेत्रको विचरण गरी यसै पवित्र गोदावरी नदीमा स्नान गरी ज्ञानसमेत हासिल गरेको विश्वास गरिन्छ । हरेक वर्ष यस क्षेत्रमा मकर सङ्क्रान्तिका दिन भव्य मेलासमेत लाग्ने गर्छ । यो नगरपालिका–७ नम्बर प्रदेशको विशेष गरी पहाडी जिल्लामा जाने प्रमुख मार्गद्वार पनि मानिन्छ । त्यही मार्गमा एउटा पुल छ, जोे जीर्ण अवस्थामा रहेको छ । चुरे पर्वत शृङ्खलाको काखमा जीर्ण पुलसमेत रहेको यो क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

यस नगरपालिकाको उत्तरी भूभागमा प्रकृतिले दिएका अनुपम उपहार डाँडाकाँडा रहेका छन् भने दक्षिणी भेगमा तराईको सुन्दर र मनोरम भूवनोट रहेको छ । यस नगरपालिकाका सुन्दर फाँटहरूमा उष्ण खालको हावापानी पाइन्छ भने अन्य भूभागमा समशितोष्ण खालको हावापानी छ । गोदावरी क्षेत्र हिन्दुधर्मावलम्बीको प्रमुख तीर्थस्थलकै रूपमा बढी परिचित छ । किम्बदन्तीअनुसार एउटा माझीले माछा मार्न भनी गोदावरी नदीमा पटक पटक जाल हाले, जति पटक जाल हाले पनि शिवलिङ जालमा प-यो । त्यसैले पनि यो क्षेत्रलाई विशेष महìवका साथ हेर्न थालिएको हो । जुन क्षेत्र आज प्राचीन शिव मन्दिर रहेको क्षेत्रका नामले प्रख्यात छ । 

जीर्ण अवस्थामा रहेको त्यो पुलको नजिक प्राचीन गोदावरी मन्दिरलगायत पशुपति मन्दिर, नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति, भगवती मन्दिर, गुम्बालगायत विभिन्न मठमन्दिर छन् । गोदावरी नगरपालिका वडा नं. ४ को तीर्थस्थल गोदावरी खोलामा बनाइएको यो फलामको पुल जीर्ण भएपछि स्थानीयवासीले यसलाई पर्यटकीय स्थलका रूपमा विकास गरे । यो पुल पहिला डडेलधुरा जिल्ला जोड्ने महत्त्वपूर्ण नाकाको रूपमा प्रख्यात थियो । 

आठ वर्षअघिदेखि यो पुल जीर्ण अवस्थामा छ । मोटरबाटोका कारण अन्यत्र नयाँ मोटरेवल पुल बन्न थालेपछि पुलबाटा आवातजावत हुन छाड्यो । तैपनि टिकटकका लागि यो पुल निकै नै भाइरल बन्यो । पुलमा सवारी साधन गुड्दैनन् । मुलुकको पहिचान मानिने नेपालको ठूल्ठूला झण्डा राखेर पुल सजाइएको छ । कैलाली जिल्लाको अत्तरियाबाट आठ किलो मिटरको दुरीमा यो पुल र प्रसिद्ध गोदावरी तीर्थस्थल छ ।

यो जीर्ण फलामे पुलको लम्बाइ १०८ मिटर रहेको छ । यहाँबाट डडेलधुरा सदरमुकाम पुग्न १०६ किमि दुरी पार गर्नुपर्छ । अत्तरियाबाट डडेलधुरा ११४ किमि छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो स्थलको हावापानी चिसो भएकाले पनि युवायुवती त्यहाँ जान चाहन्छन् । त्यसैले त यो भेगका युवायुवती यहाँ टिकटक बनाउने, सेल्फी खिच्ने, एकआपसमा मनोरञ्जन गर्दै तस्बिर खिचाउन पुग्छन् । जीर्ण अवस्थामा रहेको त्यो पुललाई सेल्फी पुल भनेर नामकरणसमेत गरिएको छ ।

 स्थानीयवासी देवबहादुर धामीका अनुसार यहाँ दैनिक आठ सयदेखि एक हजार स्वदेशी पर्यटक आउने गर्दछन् । शनिबार र बिदाको दिन टिकटक बनाउने र सेल्फी खिच्नेको भीड नै लाग्ने भएकाले पनि यो पुल भाइरल बनेको हो । पुलको मध्य भागमा गएपछि पवित्र गोदावरी खोलाको दायाँ र बायाँ अग्लाअग्ला रमणीय हरिया डाँडाकाँडा, जङ्गल तथा चिसो वातावरणले गर्दा आनन्दको महसुस हुन्छ । हावाले गर्दा पुलमा राखिएका चन्द्रसूर्य झण्डा फहराउँदा नेपाली हुनुको गर्व महसुस हुन्छ । यहाँनेर देखिन्छ साँच्चिकैको राष्ट्रप्रेम । 

अत्तरिया ग्रामीण भेगकी २४ वर्षीया कलला थारु भन्नुहुन्छ, ‘अत्तरियामा गर्मी क्षेत्र भएकाले यहाँको चिसोपन, नेपालको झण्डा फहराएको दृश्य, गोदावरी तीर्थ खोला बगेको, हरिया पहाड र जङ्गल, प्राचीन मन्दिर देख्दा जो कोहीलाई पनि आनन्द महसुस हुन्छ ।’ आफू पनि बेलाबेलामा साथीहरूसँग यहाँ टिकटक बनाउन र सेल्फी खिच्न आउने गरेको उहाँ बताउनुहुन्छ । 

यस पुलमा स्वदेशी पर्यटक बढी आउने भएकाले यहाँका खाजा पसल, कोल्ड स्टोर, रेस्टुराँ र टेम्पो व्यवसायीको व्यवसाय पनि फस्टाएको छ । थोरै व्यक्तिको पनि रोजीरोटीको व्यवस्था गरेको यो पुल क्षेत्रको संरक्षण आवश्यक छ । पुल मात्र होइन गोदावरी क्षेत्रकै पर्यटकीय महìव बढाउन राज्यको पनि ध्यान जानुपर्छ । 

Author

राजेश ढुंगाना