केदार तिमल्सिना
बनेपा, मङ्सिर २२ गते । काठमाडौँ विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो) चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार हुने ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा विश्विद्यालयका विभिन्न सङ्कायका दुई हजार २०९ विद्यार्थी दीक्षित हुने जानकारी दिइएको हो ।
समारोहमा विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुरेलले बुधबार हुने दीक्षान्त समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मैनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित हुने बताउनुभयो । उहाँले दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पिजिडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहने छन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत अर्थात् एक हजार १५४ जना र महिला ४७.७६ प्रतिशत अर्थात् एक हजार ५५ जना रहने छन् ।
दीक्षितमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बाङ्लादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, सयुक्तराज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अथर्थात् विदेशी रहने छन् ।
काठमाडौँ विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसपी वाई रिसर्च इन म्याथमेटिक्स्मा एक जना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा २९ जना विद्यार्थी दीक्षित हुने छन् । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत्त पहिलोपटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित हुने छन् ।
३१ औं दीक्षान्त (पहिलो चरण। सहित गरी हालसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको सङ्ख्या पाँच हजार ८६० अर्थात करिब १२ प्रतिशत रहेको छ । यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्पेनका एमसाइट कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी प्राप्त गर्ने गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्णपदक, अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, सौगात दङ्गाललाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरिने छ ।
यस्तै रक्षा तिवारीलाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा. अच्यूत वाग्लेले विश्वविद्यालयका कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्नुको साथै विश्वविद्यालयलाई सातै प्रदेशमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । कार्यक्रममा रजिष्ट्रार डा. राजिव श्रेष्ठले विश्वविद्यालयले पाँच सय शय्याको अस्पताल, तीन सय जना क्षमताको सभा हललगायतका पूर्वाधार निर्माण गर्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्तीश्री लिपुडी पण्डित प्रमुख अतिथिको रूपमा रहनुहुने छ ।