सिराज खान
नेपालगन्ज, मङ्सिर २२ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत| महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको अभियानबाट तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी बक्यौता रकम असुल भएको छ ।
नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले विद्युत् बक्यौता धेरै देखिएकोले ‘बक्यौता असुली अभियान’ सञ्चालन गरिएको जनाउँदै सो अभियानको क्रममा तीन दिनकै अवधिमा २१ लाख ७६ हजार ५१७ रुपियाँ सङ्कलन भएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत हालसम्म लामो समयदेखि विद्युत् महसुल नबुझाउने ३२२ जना ग्राहकको लाइन काटिएको जनाउँदै उनीहरुबाट ५२ लाख १३ हजार ४६१ रुपियाँ असुली गर्नु पर्ने देखिएकोमा १३३ जनाले महसुल बुझाएर लाइन पुनः सुचारु गरेको बताउनुभयो ।
१३३ जना ग्राहकले २१ लाख ७६ हजार ५१७ रुपियाँ जम्मा गरेर लाइन पुनः सुचारु गराएको र अन्य ग्राहकले महसुल बुझाउनका लागि सम्पर्क गरिरहेको नेपालगन्ज बितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार सो अभियान अन्तर्गत आइतवार मात्रै महसुल नबुझाउने १२१ जना ग्राहकको लाइन काटिएको थियो । उनीहरुबाट १७ लाख ९७ हजार १७७ रुपियाँ महसुल असुल गर्न बाँकी थियो ।
आइतवार लाइन काटिएकामध्ये ४४ जना ग्राहकले सोही दिन ६ लाख ८९ हजार ४३१ रुपियाँ महसुल जम्मा गरेर लाइन पुनः सुचारु गराएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्राले बताउनुभयो ।
साथै कालोपाटीमा सूचीकृत एक जना दीर्घकालीन बक्यौता ग्राहकबाट पनि एक लाख रुपियाँ असुल गरिएको वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख मिश्राका अनुसार बक्यौता असुली अभियान अझ कडाइका साथ निरन्तर चलाइनेछ । उहाँले थप्नुभयो–“सबै ग्राहकलाई समयमा नै विद्युत् महसुल तिर्न अनुरोध गरेका छौं, नतिर्नेको लाइन काटिनेछ ।”
प्राधिकरणको नियमअनुसार ६१ दिनभन्दा बढी बक्यौता राख्ने ग्राहकको लाइन जुनसुकै बेला काट्न सकिने व्यवस्था छ ।
यसैगरी खजुरा विद्युत् कार्यालयका इन्चार्ज दिनेशकुमार वलीको नेतृत्वमा खटिएको टोलीले लामो समयसम्म विद्युत् महसुल नबुझाउने ५९ ग्राहकको लाइन काटेको छ । समयमै महसुल नबुझाउँदा समस्या सिर्जना हुने भएकाले सकेसम्म छिटो महसुल तिर्न सबै ग्राहकलाई अपिल गरिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।