धनगढी समाचारदाता
धनगढी, मङ्सिर २२ गते । परिवार र समाजको डरले चुपचाप छाउपडी प्रथा स्विकार्ने परिपाटी अन्त्य गर्दै कैलालीका केही जागरुक महिला छाउपडी प्रथाविरुद्ध उत्रेका छन् ।
ग्रामीण क्षेत्रमा महिला समूह बनाएर महिला छाउपडी प्रथाविरुद्ध लडाइँ गर्न थालेका हुन् । महिनावारी भएका बेला उनीहरू आफू पनि घरभित्रै बस्ने र अरूलाई पनि घरमै बस्न सल्लाह दिँदै सचेतना फैलाउने कार्य गरिरहेका छन् ।
त्यसैमध्येकी एक हुनुहुन्छ धनगढी उपमहानगरपालिका–९ की एकल महिला राधा कोली । उहाँले रजस्वलाको समयमा महिला आफ्नो घरमै बस्नु पर्छ भन्ने सचेतनामूलक अभियान आफ्नो गाउँमा चलाउनुभएको छ । सिर्जनशील महिला समूहकी उपाध्यक्षसमेत रहनुभएका कोलीको कारण अहिले धेरै परिवर्तन आएको छ ।
“सुरु सुरुमा महिनावारीका बेला घरमा बस्न मैले सल्लाह दिन थालेपछि बाहिर सरेका बेला छरछिमेकका महिला मेरै घरमा आएर बस्न थाले । मेरो चर्पी प्रयोग गर्न थाले,” राधा भन्नुहुन्छ, “घरमा बस्दा केही हुँदैन भन्ने बुझिसकेपछि अहिले मेरो घरमा कोही आउँदैन । सबै आफ्नै घरमा बस्छन् ।”
एउटा बाख्रा मरेपछि देवीदेवता बिग्रेर बाख्रा मरेको भन्दै पुरोहितले आलोचना गरेको स्मरण गर्दै उहाँले त्यसको बाबजुद पनि आफू पछाडि नहटेको उल्लेख गर्नुभयो । “महिनावारी भएका बेला आफू पनि घरमै बस्छे । आफ्नो छोरीलाई पनि घरमै बसाउने गरेका कारण देवता बिग्रेर बाख्रा म¥यो भनेर हल्ला फैलाए,” कोलीले भन्नुभयो, “ब्राह्मणलाई देखाउँदा पनि त्यही भन्नु भो तर म पछि हटिनँ । अब अरूको पनि साथ मिलेको छ ।”
त्यस्तै गोदावरी नगरपालिका–७ की नन्दादेवी साउद पनि रजस्वलाका बेला छाउगोठमा नबस्न आफ्नो छरछिमेक र गाउँका महिलालाई सल्लाह दिन थाल्नुभएको छ । रजस्वला भएका बेला गाउँघरमा ११ दिनसम्म अछुतो मान्ने गरेको भन्दै उहाँले थप्नुभयो, “बरु भान्सा र पूजाघरमा नजानू तर घरमै बस्दा केही हुन्न भनेर सम्झाउने गरेकी छु ।” कञ्चन महिला दुनाटपरी समूहका अध्यक्षसमेत रहनुभएका साउदले दुनाटपरी बनाउँदै सचेतना फैलाउने गरेको जानकारी दिनुभयो । “एकचोटि छिमेकीकी छोरी बाहिर सरेपछि घरमा बसाउन मानेका थिएनन्,” उहाँले भन्नुभयो, “मेरो घरमा सुताउन कोेठा माग्दै थिए । मैले तपाईंहरू अबदेखि आफ्नै घरमा सुताउनुहोस् । देवीदेवता रिसाएर केही भए त्यसको जिम्मेवारी म लिन्छु भने घरमै बस्न लगाएँ । अब घरमै बस्न थालेका छन् ।”
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा एउटा ठुलो सामाजिक समस्याका रूपमा रहेको छ । यो गलत प्रथाविरुद्ध भने अब महिला नै उत्रिन थालेका छन् । कैलालीको विभिन्न पालिकाको वडामा महिला समूह गठन गरेर विभिन्न किसिमको सचेतनामूलक तालिम लिएपछि महिला छाउपडी अन्त्यका लागि अग्रसर हुनुका साथै समूहमा बसेर आयआर्जनको काम पनि गर्न थालेको महिला जागरण तथा विकास केन्द्रका डा. शशि अधिकारीले बताउनुभयो ।