• २२ मङ्सिर २०८२, सोमबार

उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी : तीन तले आवास जलेर नष्ट

blog

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३ स्थित ल्होमा रहेको प्राचिन रिपुम गुम्बामा भिषण आगलागी । तस्बिर सौजन्य ः सुरेन गुरुङ

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर २२ गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । आइतबार राति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएकाले करोडौंको क्षति पुगेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उपस्थितिमा मुचुल्का गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाका कारण र यसबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । यहाँको रिपुम गुम्बा हजार वर्ष प्राचिन मानिन्छ । जलेको लामाको आवास भवन भने ४० वर्ष पुरानो भएकाले उक्त घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखका नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।