• २० मङ्सिर २०८२, शनिबार

छालछेउको इतिहास

blog

किनार छोडेर उकालोमा कुदे पाइला ! किङ एडवर्ड परेडबाट बाटो मोडिएर उत्तर लागेपछि समुद्र छोडियो । अनि हामी पसेथ्यौँ बाक्लो र रमाइलो बस्तीतिर । डेभनपोर्ट परै रह्यो । चिल्ला सडक, राता गुच्छामा ढकमकिएका भरिला रुख, जलाम्मे किनार परै बसे । हामीसँग अँगालिन आइपुग्यो उकालो बाटो ।

दक्षिणतिर अकल्यान्ड सहरको चमक र गमक औधी रहरलाग्दो देखिन्थ्यो । अकल्यान्ड सहरको मुटुमै ठडिएको स्काई टावरको आभाले उन्नतिको चमक छरिरहेथ्यो । अगाडि लागेका पैताला रोक्दै, फर्किंदै म त्यो दिव्यता, भव्यता र सम्पन्नता चिहाइरहन्थेँ पटक पटक । “इतिहास हेर्न जाऊँ न !” रूपेश भाइले अघिल्लै दिन भनेका थिए । पानी छिट्याउने, रोकिने भइरहेछ । परेली, गाला र कानमा पानीका थोपाथोपी खस्छन् । “आँखा चैँ नछोप है । यो अकल्यान्डको रूप मैले बेस्सरी पढ्नु छ,” फुसफुसाउँछु आकाश हेरेर ।बाटो उत्तर लाग्यो अलिक ठुलो । सानो छुट्टियो पूर्वतिर । सानो भनेकै राजमार्ग जत्तिकै छ । बाटोका दायाँबायाँ पोटाकुवा फुल्न कोपिलिएका भरिला रुखले हरियै पारेथे । उकालैउकालो लागेपछि मूल बाटो छोडेर गोरेटोतिर लाग्यौँ ।

पोथ्रामा पहेँला फूल लफव्रmै फुलेथे ।

निकै माथि पुगेपछि समुद्रको उज्यालो फेरि देखियो । समुद्रपारि अकल्यान्ड धन, वैभव र सौन्दर्यले चम्किरहेथ्यो । मैले सम्झना साँचेँ किलिक्क किलिक्क पारेर । रूपेश भाइ बोले, “अकल्यान्ड मात्रै नभएर न्युजिल्यान्डकै निकै इतिहास बोकेको गढी हो यो थुम्को ।” पहाड जस्तो लाग्ने हरियो उचाइतिर रोकिँदै र लम्किँदै छौँ हामी । बाछिटाको छनक नि त्यस्तै छ ।

पाथी घोप्टिएको थुम्को जस्तो छ । त्यही थुम्को वरपर धेरै धेरै तथ्य जोडिएका देखिन्थे । समुद्रले घेरिएको अकल्यान्डलाई हेरविचार गर्ने किल्ला जस्तो ठानिरहेथेँ म माउन गाइकालाई । उकालो चढेर माथि थुम्कामा पुगेपछि समुद्रको अथाह रूप अझै भव्य, दिव्य र सौम्यसँग देखा प¥यो ।

मैले अलिक तन्किएर हेरेँ, सात÷आठ तरेली नाघेर हामी यो थुम्कोमा पुगेका रहेछौँ । पूर्व, दक्षिण र उत्तरसम्म समुद्रले घेरिएको थियो । पश्चिमी पाटो गएर डेभनपोर्टमा ठोक्किएको थियो ।

सुनखानीले नाम कमाएको अकल्यान्डसँग उत्पादनका अरू धेरै खनिज पदार्थ पनि रहेछन् । आफ्नो उत्पादन समुद्रको बाटो गरी लाने व्यवस्था थियो न्युजिल्यान्डको तर त्यसबेला युरोपेली लडाकुले जहाज लुटपाट गर्न छोडेनछन् । अर्कातिर सहरको सुरक्षाका निम्ति पनि सेनाले यो गढी निर्माण गरेको रहेछ । मास्तिर आउँदा केही तल ठुलठुला तोप समुद्रतिर तेर्सिएका देखिन्थे ।

अघि एउटा गुफा जस्तो घरमा एकछिन उभिएर निहालेको थिएँ । रसदपानी थन्काएर लड्ने सुरुङ जस्तो ठाउँले सैन्य इतिहासको कथा भनिरहेथ्यो । “यो डाँडैभरि यस्ता तोप, सुरुङ मनग्गे छन्,” रूपेश भाइले भनेथे । त्यसपछि हामी पहाडका तरेली नाघी नाघी पूर्वतिर लागेथ्यौँ । अनि थुम्का उक्लेर सुस्ताएथ्यौँ– समुद्रका छालमा उर्ली उर्ली । माओरी जातिले ‘उइका पहाड’ भनेर अत्यन्तै आदर गर्ने यो किल्ला ५० वर्षअघिदेखि अस्तित्वमा आएको तथ्य रहेछ ।

पहाडको बाटो हेर्दा नै ज्वालामुखीको पहाड हो भन्ने लख काट्न गाह्रो थिएन । रातो माटो, कडा र खैरो चट्टान, काला ढुङ्ग्यानीको पत्रे तह खप्टेर ‘उइका पहाड’ ठडिएको लाग्थ्यो ।

“घानमा नपार है ज्वालामुखी । अरू त सबै कुरा ज्वालामुखी जस्तै छ यहाँको कुदाकुद,” सञ्जय सुवेदी भाइ वरपरका थुम्का, समुद्रका किनार, भिर र पहाड देखाउँदै भन्थे । भाइका कुरा अहिले फेरि सम्झेँ मैले ।

माउन गाइकामा कुनै समय माओरी समुदायकै घना बस्ती थियो रे । पछि युरोपेलीको आगमनपछि त्यो बस्तीमा निकै फेरबदल भएछ । वरिपरि समुद्रले घेरिएको सुन्दर, शान्त र आनन्दले अँगालेको माउन गाइकासँग फ्रान्स, रसिया आदि देशको इतिहास पनि जोडिएको पाइन्छ । एकातिर सयौँ थरीका माओरीको आपसी द्वन्द्व । अर्कातिर युरोपेलीको दबदबा । युरोपमा पनि बेलायती, फ्रान्सेली, डचको पेलामपेल र गिद्धे हेराइ ।

आपसी खिचातानीमा रगडिएको सुन्दर अकल्यान्ड चिनियाँ, भारतीय, जापानी, इन्डोनेसियालीको तारोमा पनि पर्न छोडेनछ । अनेकौँ सामुद्रिक लुटेराले अकल्यान्डबाट बाहिरिने सुन, ऊन, मासु, काठ र दुधका उत्पादन हत्याउन पछि परेनछन् । यी सबैबाट पार पाउन यो थलोमा सेनाले ठुलठुला तोप, बारुद र हतियार राखेको रहेछ । ठाउँ ठाउँमा तोप र आकाशतिर नाल तेर्सिएका मेसिनगन हेर्दा हामी अनेकौँ कुरा गथ्र्यौं, दुःख, विपत्ति र उत्पीडनका ।

मानिस होस् कि वनस्पति, चराचुरुङ्गी होऊन् कि चौपाया ईष्र्या, जलन, लोभ र दम्भ थोरबहुत हुने नै रहेछ । निम्छरालाई दबाउने, हुनेखानेले दपेट्ने, सोझासिधा पेलिने र कमजोर पेलाइमा पर्ने देश पनि हुँदा रहेछन् ।

इतिहासले त्यही भन्यो, देखायो र बतायो । न्युजिल्यान्डको पुरानो इतिहास यही कथा र व्यथाका पङ्क्तिले घेरिएको भेटिन्छ । अहिले माउन गाइकामा उभिँदा म यस्तै सम्झिरहेछु– शक्ति र दुर्बलताका कथा, अहम् र प्रतिकारका कथा ।

माथि थाप्लोमा पुगेपछि देखियो किल्ला । सेनाको सुरुङ थियो । किल्ला वरिपरिबाट तोप, बन्दुक र अरू गोलाबारुद चलाउन मिलाउन मिल्ने बारबेर अभैm बलियो लाग्थ्यो । त्यसो त तलको फन्कोमै पनि चारै सुरमा ठुलठुला तोप ठडिएथे । तिनले शत्रुका हमलालाई पर्याप्त रोक्न सक्थे । तिनले प्रतिकार गर्न नसके माथिल्लो थुम्कोबाट प्रहार गर्ने रणनीति देखिन्थ्यो । “न्युजिल्यान्डले आफूले दुःखले यो शान्ति पाएको हो । पहिला त सधैँको कलह, कचिङ्गलो र काटाकाट । बल्ल शान्तिसँग बाँच्न पाएको छ यो देशले,” रूपेश भाइ बोलिरहेथे ।

म समुद्रमा पूर्वतिर गइरहेका मालवाहक पानीजहाजका लस्करमा आँखा गाडिरहेथेँ । उनका कुरासँग मन फर्काएँ, आँखा उतै नचाइरहेँ । देश त्यत्तिकै कहाँ बनेको हुँदोरहेछ र शान्त– उसका पछाडि तप्त, सन्तप्त र अभिशप्त इतिहास पनि गाँसिएको हुँदो रहेछ । यस्तै यस्तै ठानिरहेको छु म ।

सेता सेता लहर चिरेर थुप्रेको निलो सागरमाथि दौडिरहेका किबी, जहाज लुट्न कुनै बेला पश्चिमी देशका लडाकुले दाउ छोपिरहेका हुँदा हुन् । आफ्नो उत्पादनले एसिया, अफ्रिका वा अस्ट्रेलियाको जीवनलाई समृद्ध, सुख र समुन्नत पार्न खोजे पनि युरोपेली जलदस्युहरूको कर्के नजर रहिरहेको हुँदो हो ।

तर ती सबैसँग लड्दै, जुध्दै, उठ्दै र तङ्ग्रिँदै न्युजिल्यान्ड आजको यो उज्यालो गतिमा आइपुगेको लाग्थ्यो । ती सबै बिघ्न, बाधा र व्यवधान छिचोल्दै आजको यो बलशाली लयमा उभिएको भान हुन्थ्यो । पानी छिट्याएपछि हामीले पाइला चाल्यौँ । अनि पश्चिमपट्टि लाग्यौँ । बाटैमा तीन÷वटा लामा टहरा थिए । बाहिरपट्टि सूचना टाँसिएथ्यो, ‘माओरी सङ्ग्रहालय ।’

सन् १८५० को वरपरदेखि यो थुम्को माछा मार्नका लागि प्रयोग गरिन्थ्यो रे । पछि पछि बगैँचा र सामान्य फलफूल खेतीका निम्ति पनि प्रयोग भएको तथ्य रहेछ । विशेषतः सैन्य प्रयोजनका लागि यो थुम्कोले महìव पाए पनि अकल्यान्डको वाणिज्य, पर्यटन, स्वास्थ्य र जनजीवनको समृद्धिमा उल्लेख्य मूल्य रहेको लाग्थ्यो । कुनै समय कैदीले श्रमदान गरी यो किल्लाको निर्माण भएको जानकारीसमेत इतिहासमा पढ्न पाइने रहेछ ।

वरिपरि ठुलठुला तोपले घेराबन्दी गरिएको यो थुम्कोसँग वीरता, साहस, पराव्रmम र आँटका अनेकौँ कथा छरछार भएको देखिरहेथेँ म । देश, जाति, धर्म र सभ्यताका लागि खटिरहने पौरुषताका अनेकौँ चरित्र यहाँ आलोकित थिए ।

हामीले हरेक टहरामा चिहायौँ । भित्र पसेर अलमलिने समय हामीसँग थिएन । हेर्न मन भए पनि खुम्चियौँ ।

सिङ्गो डाँडोबाट समुद्र पढ्दै, इतिहास बुझ्ने पदमार्ग थियो । सिङ्गो थुम्कोबाट सागरका लहर निहाल्दै, सभ्यता छिचोल्ने गोरेटो थियो । यी सबैसँग न्युजिल्यान्डको सुरक्षा र शान्ति अँगालिएका थिए । पश्चिमी कुनोबाट पसेका हामी दक्षिण, पूर्व र उत्तर छिचोलेर फेरि उही चेपमा उभिएथ्यौँ । यहाँबाट अकल्यान्डको विराट सुन्दरता, भव्य उच्चता र अथाह दिव्यता देखिरहेथेँ म ।

बुढाबुढीको एउटा लस्कर सकीनसकी उक्लिरहेथ्यो थुम्कातिर । तरुनातरुनीको हुल तल समुद्रतिरै रङ्गीचङ्गी भकुन्डो पानीमा फ्याँकेर उल्लाहित भइरहेथ्यो । इतिहास त नयाँले पढेको जाती । पुरानासँग बल, शक्ति र तागत ओइलाएर गइसकेको हुन्छ ।  माउन गाइकालाई मैले फेरि तल ओर्लेपछि फर्केर हेरेँ– जर्मनी, पोर्चुगाली र डचको घरी घरीको हमलासँग लडेको थियो यो किल्लाले । हिजोको लडाइँ, खटाइ र मराइले आजको न्युजिल्यान्डसँग सास सासमा बाँचेको छ साहस । साहसको एउटा संसार हेर्न पाएकोमा मन भरिएको थियो, हृदय नाची नाची ।