• १८ मङ्सिर २०८२, बिहिबार

थोराङ्ला पासमा पर्यटकको चहलपहल बढ्याे

blog

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत साहसिक गन्तव्य थोराङ्ला पासको यात्रामा पर्यटक । तस्बिर सौजन्य : दीपक ओली

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १८ गते । कठ्याङ्ग्रिदो जाडो, पानी जमेर बरफ, पदमार्ग आसपासमा हिउँले छपक्कै छोपेको अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत थोराङ्ला पासमा विदेशी पर्यटकको चहलपहल छ । गण्डकी प्रदेशको पाँच जिल्ला समेटिएको पदमार्गको समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङ्लामा मध्य मङ्सिरमा पनि विदेशी पर्यटक आवतजावत नियमित छ । यो अन्नपुर्ण चक्रीयकै सबैभन्दा उच्च स्थानमा रहेको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीको सञ्चार शाखाको तथ्याङ्क अनुसार मङ्सिर महिनाको १ गते २ सय १ जना मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङ प्रवेश गरेकोमा  मङ्सिर१८ गते ९८ जना प्रवेश गरेका छन् । यो १८ दिनको अवधिमा न्यूनतम ५५ जना दैनिकजसो पदमार्गबाट मुस्ताङ आउने गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । सूचना अधिकारी बस्यालले भन्नुभयो,‘‘थोराङ्लाबाट आउने पर्यटकको चाप कम भएपनि जाडोयाममा पनि नियमित छ।’’ अन्नपूर्ण चक्रीय पदमार्गको प्रवेशविन्दु लमजुङको बेँसीसहरबाट २१ दिनको थोराङ्ला पासको यात्रा सडक सञ्जालका कारण अहिले एक सातामै पार गरिन्छ । 

थोराङ्लामा मनाङ जिल्लाका याकखर्क,लेदर, थोरङ फेदी र हाई क्याम्प हुँदै आउने गरिन्छ । मनाङको चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१,मुक्तिनाथ क्षेत्रमा आएपछि महत्त्वपूर्ण यात्रा टुगिन्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ आउने सबैभन्दा सहासिक मानिन्छ । टान अध्यक्ष आचार्य भन्नुहुन्छ,‘‘सडकले पूरानो पदमार्ग मास्दा विदेशी पर्यटकको यात्रा छोटिएको छ, थोराङ्लाको यात्रा लम्बाउन अब सडक सञ्जाल खुम्चाउनुपर्छ ।’ याकखर्क, थोराङ्ला फेदी, थोराङ्ला हाइक्यापसम्मको पदयात्रालाई विदेशी पर्यटकले निकै आर्कषक मान्ने भएकाले यस क्षेत्रमा पर्यटकलाई सुविधा थप्न आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

मुस्ताङमा छिमेकी म्याग्दी जिल्लामा रहेको धौलागिरि हिमाल हुदै घरपझोङ गाउँपालिका–२,मार्फा जोड्ने राउन्ड धौलागिरि र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४,यारा हुँदै मनाङ जोड्ने चिनको तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पास विदेशी पर्यटकको रोजाइमा रहेको छ । जाडो समयमा राउन्ड धौलागिरि र सरिबुङ पासमा पाँच फिटसम्म हिउँ जमेको अवस्थामा पदयात्रा सम्भव नभएपनि थोराङ्ला पासमा हिउँ पन्छाउँदै पर्यटक यात्रामा रमाउने गरेका हुन्छन् । मुस्ताङलाई जोड्ने तिनवटै पदमार्गमध्ये थोराङ्ला पास सबैभन्दा धेरै चहलपहल हुने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो ।अध्यक्ष लालचनले भन्नुभयो,‘‘पदमार्ग जोगाउन आवश्यक छ, अहिले मुस्ताङ आउने विदेशी पर्यटक लामो समयसम्म पदमार्गमा बिताउन चाहन्छन् ।’’ 

सन् १९७० मा पदयात्राका लागि खुला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकको समेत रोजाइमा परेको छ । वैशाख, जेठ, असोज र कात्तिक महिनामा नेपाली पर्यटक पुग्ने गर्दछन् भने विदेशी पर्यटक सिजन बाहेक पनि यात्रा गर्ने गरेको पाइन्छ । थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङमा बर्सेनि १३ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । मुस्ताङमा चिसो ह्वात्तै बढे पनि मङ्सिर महिनाको १८ गते ३ सय ३९ सवारी साधनबाट सडक सञ्जाल हुँदै २५ सय ४ जना, हवाईमार्गबाट ५ जना रहेका छन् । मुक्तिनाथ मन्दिरको दर्शन २५ सय जनाले गरेका छन्।