एकिन्द्र तिमिल्सेना
टीकापुर, मङ्सिर १८ गते । परिवार समाजमा हुने लैङ्गिक हिंसा रोक्न पुरुषको भूमिका खोजी हुन थालेको छ । हिंसा गर्न, गराउन पुरुष नै अग्रसर देखिएकाले हिंसा रोक्न पनि पुरुषको भूमिका महत्त्वपूर्ण हुने ठानेर टीकापुर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला समूहसँग छलफल गरेको हो ।
‘लैङ्गिक हिंसा रोकथामको विषयमा महिलालाई धेरै सुनायौं अवस्था खासै परिवर्तन हुन सकेको छैन, पुरुषहरूलाई जिम्मेवार बनाउन सके लैङ्गिक हिंसा कम हुन सक्छ’ टीकापुर नगरपालिकाका महिला बालबालिका समाजकल्याण शाखाका प्रमुख सङ्गीता शाहले भन्नुभयो, ‘हिंसाका कारण असर र कानुनी व्यवस्थाबारे युवाहरूलाई बुझाउन लागेका छौं ।’
बिहीबार टीकापुर नगरपालिका–४, कोदैपुरमा आयोजित कार्यक्रममा सहभागी युवा राजाराम चौधरीले हिंसाले शारीरिक, मानसिक समस्या ल्याउने र परिवार विघटनसम्म हुनसक्ने भएकाले हरेक घरका युवा सचेत हुन आवश्यक रहेको महसुस भएको बताउनुभयो ।
शिक्षक भिखुराम चौधरीले आफू पनि हिंसामा नपर्न र आमा, दिदीबहिनी श्रीमतीलाई सुरक्षित बनाउन पुरुषहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । थारु समुदायको बाहुल्यता भएको कोदैपुर गाउँमा भएको कार्यक्रमका सहभागीहरूले महिलाबाट आफूहरू पनि हिंसामा पर्ने गरेको बताएका छन् ।
महिलाले श्रीमान् नबिग्रीयोस, खर्चालु नहोस, समयमै घर आओस् आसयले पुरुषमाथि निगरानी राख्न चाहे पनि पुरुषहरू धन, बल, पढाइजस्ता घमण्ड र स्वार्थका कारण महिलामाथि शोषण गरिरहेका बताएका छन् । बरघर रामनारायण चौधरी युवाहरूले महिला पुरुषको समान अस्तित्व हुनु पर्छ भन्ने सोचका साथ व्यवहार गरेमा हिंसा न्यूनीकरण हुने बताउनुहुन्छ ।
टीकापुर नगरपालिका–४ का वडाध्यक्ष लालवीर चौधरी हरेक घरका पुरुषले महिलालाई दबाबमा राखेको, युवाहरूले ज्येष्ठ नागरिक, बालबालिकालाई दुर्व्यवहार गरेको देखेपछि वा समूहका सदस्यसँग अन्तर्क्रिया गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घर र छरछिमेकमा भइरहेका लैङ्गिक हिंसाका घटना न्यूनीकरण गर्दै अन्त्य गर्न घरमूली र पुरुषको भूमिका हुनु पर्छ ।’