• १७ मङ्सिर २०८२, बुधबार

हातहतियारसहित एक व्यक्ति पक्राउ

blog

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर १७ गते । जिल्लाको सरुमारानी गाउँपालिका–६, पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मङ्सिर १६ गते बिहान करिब ५ बजे जङ्गलतर्फ जाँदै गरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भिङ्गृ र प्रहरी चौकी बड्डाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुकजस्तै देखिने दुई थान, भरुवा पेस्तोलजस्तै तीन थान, हतियारमा प्रयोग हुने करिब ८० ग्राम बारुदजस्तो पदार्थ, फलामका छर्रा ३५ थान र प्लास्टिकका सिसीहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद सामग्रीसहित बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा बुधबार प्युठान जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।