काठमाडौँ, मङ्सिर १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको संवाद कार्यक्रममा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राख्नुभयो । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उहाँले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट गर्नुभयो ।
उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नभाग्ने भन्दै उहाँले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
संवाद कार्यक्रममा बोल्दै उहाँले अहिले देखिएको एमालेको ध्रुव मङ्सिर २९ गतेसम्म नजाने बताउनुभयो। एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईंहरूलाई लाग्छ यो मङ्सिर २९ गतेसम्म रहला ? मङ्सिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उहाँले भन्नुभयो।