• १६ मंसिर २०८२, मङ्गलबार

बागलुङमा दुई सय १५ एचआइभी सङ्क्रमित पहिचान

blog

विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १६ गते ।
जिल्लामा दुई सय १५ जना एचआइभी एड्स सङ्क्रमितको पहिचान भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार, सङ्क्रमितमध्ये अठार जना १८ वर्ष मुनिका छन् ।

सङ्क्रमितलाई गोप्य रुपमा नियमित औषधी सेवनको दायरामा ल्याउने काम चुनौतीपूर्ण भएकोले एचआइभी पहिचानको दर, उपचार पद्धति र सङ्क्रमण रोकथामलाई सन् २०३० सम्ममा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य भेटाउन धेरै मेहेनत गर्नुपर्ने घिमिरेले बताउनुभयो ।

‘‘नेपालमा अहिले एचआइभी सङ्क्रमित पत्ता लगाउने दर ९३ प्रतिशत, उपचार ८६ प्रतिशत र नियन्त्रण ७७ प्रतिशत रहेको छ । त्यो दरलाई ९५ प्रतिशतमा लैजाने चुनौती छ’’ घिमिरेले भन्नुभयो, ‘‘यो अभियानमा धौलागिरि पोजेटिभ समूहले पनि साथ दिएको छ ।’’ 

असुरक्षित यौनसम्पर्क, रगत लिनेदिने काम तथा लागूऔषध प्रयोगकर्ताबाट एचआइभी सङ्क्रमण हुने गर्छ । सङ्क्रमितलाई दिर्घरोग तथा अन्य प्राणघातक रोग लाग्दा निको नहुने भएकोे छिटो मृत्यु हुने गरेको छ । क्षयरोग, हेपाटाइटिस लगायतका रोग लागेमा एचआइभी भएकाहरुको मृत्यु हुने दर बढी हुने घिमिरले जानकारी दिनुभयो ।

एचआइभीबारे समुदायमा चेतना विकास गर्ने, सचेत बनाउने, रोग लाग्नै नदिने उपायको खोजी गर्ने काम भइरहेको घिमिरेले बताउनुभयो । ‘‘त्यसबाहेक सङ्क्रमित आमाबाट बालबालिकामा सर्न नदिन विशेष सर्तकता अपनाउने काम पनि अभियानको रुपमा चलेकाले हरेक गर्भवती आमाले नियमित स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ’’ घिमिरेले भन्नुभयो ।

धौलागिरी अस्पतालको एआरटी सेन्टरबाट निःशुल्क औषधी पाइने भए पनि कतिपय उपचारको पहुँचमा नआउने, आएकाहरु पनि खुल्न नचाहने गरेकोले यो समस्या जटिल रहेको छ । त्यसका लागि धौलागिरी पोजेटिभ समूहले समुदायसम्मै पुगेर औषधी दिने काम समेत गरेको छ । बुर्तिवाङ अस्पतालबाट पनि अहिले ३५ जना सङ्क्रमितले औषधी सेवन गरेका छन् भने अन्यले धौलागिरी अस्पतालबाटै सेवा लिएका हुन् ।

सङ्क्रमण दर कम गर्नेसँगै सङ्क्रमितलाई लान्छाना र भेदभाव न्यूनीकरण गर्ने, नयाँ सङ्क्रमण रोक्ने र मृत्युदर घटाउने लक्ष्यमा जनस्वास्थ्य कार्यालयले काम गरिरहेको छ । लक्ष्य प्राप्तीका लागि जिल्लामा खोजी तथा पहिचान, उपचारको दायरामा ल्याउने र रोकथाम गर्ने क्रम चलिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रविण शर्माले बताउनुभयो ।