• १५ मंसिर २०८२, सोमबार

एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि

blog

खेलअघि नेपाल र युएईका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।

फाइनलमा सोमबार युएईले दिएको १४८ रनको लक्ष्य  पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५/२५ रनको योगदान गरे पनि जिताउन सक्नुभएन । बलिङमा युएईका युग जै शर्मा र अली असगर शम्सले तीन/तीन विकेट लिनुभयो । 

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन बनाउनुभयो । 

बलिङमा नेपालका दयानन्द मण्डलले ६ विकेट लिनुभयो । अपराजित पौडलले दुई तथा कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक एक विकेट लिनुभयो । 

यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।