चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १५ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् ।
पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिवेणी गाउँपालिकालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै शनिबारको खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको छ ।
सोमबार आज फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच प्रि–क्वार्टर फाइनल अर्थात पहिलो चरणको खेल हुनेछ । मङ्गलबार सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबिचको खेल हुने कञ्चनजङ्घा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिका भने सहभागी भएको छैन ।
लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावरक सङ्जुम्भो फुङ्लेङले संयक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल भने मङ्सिर २० गते हुनेछ । सदरमुकाम फुङ्लिङस्थित भनुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।