• १५ मंसिर २०८२, सोमबार

समयमै सूचना दिए विपत् न्यूनीकरण

blog

सुर्खेत समाचारदाता

सुर्खेत, मङ्सिर १५ गते । जल तथा मौसमजन्य विपत्को समयमै सही सूचना दिएर जनधनको क्षति कम गराउन प्रदेशका सरोकारवालाले जल तथा मौसम विज्ञान विभागलाई सुझाव दिएका छन् । विगतमा सही समयमा सही सूचना नपाउँदा जनधनको क्षति भएकाले अब अत्याधुनिक प्रणालीबाट एकै पटक धेरैलाई सही सूचना दिएर क्षति कम गराउन सकिने उनीहरूको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको व्यावहारिक अनुसन्धान तथा विकास केन्द्र ललितपुरले सुर्खेतमा आयोजना गरेको साझा सतर्कता प्रोटोकल सञ्चालनको अन्तिम मसौदामाथि गरेको सुझाव सङ्कलनमा सरोकारवालाले विगतको तुलनामा विभागको सूचनाले क्षति न्यूनीकरणमा सहयोग पुगेको भन्दै अझै सही समयमा सही सूचना दिन प्रयत्नरत हुनुपर्ने बताएका छन् । 

कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले विभागको पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो । उहाँले सही सूचना कार्यान्वयन हुन सके क्षति कम हुने भन्दै आगामी दिनमा सूचना प्रणाली सहज र झन्झटिलोरहित हुनुपर्ने बताउनुभयो । साथै भूगोल अनुसार एउटै प्रणालीबाट सूचना दिनु प्रभावकारी हुने उहाँको भनाइ छ । कर्णाली प्रदेशका ऊर्जा विकास तथा जलस्रोत मन्त्रालयका सचिव मोहनकृष्ण शाक्यले पूर्वसूचना प्रणाली फरक फरक नगराउन आग्रह गर्नुभयो । सही सूचनाले हजारौँको ज्यान बच्ने हुँदा विभागको प्रोटोकल व्यावहारिक हुनुपर्ने उहाँले बताउनुभयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले विगतको तुलनामा यस वर्ष विभागको सूचनाले जल तथा मौसमजन्य विपत्बाट कम क्षति भएको बताउनुभयो । 

उहाँले केही महिनाअघि हुम्लामा भएको हिमपहिरोको सूचना पाउन नसक्दा क्षति हुन पुगेको उल्लेख गर्नुभयो । साझा सतर्कता प्रोटोकललाई सबैले बुझिने गरी समयमै सही सूचना दिने खालको बनाउनुपर्ने सुझाव उहाँले दिनुभयो । 

इन्जिनियरिङ अध्ययन संस्थानका टिम लिडर प्राडा विष्णुप्रसाद पाण्डेले गत वर्षदेखि एकीकृत सूचना प्रणाली प्रोटोकलको काम भइरहेको र अहिले सुझाव सङ्कलन भइरहेको जानकारी दिनुभयो । प्राप्त सुझावका आधारमा विभागलाई प्रतिवेदन दिई लागु गर्न सहज हुने उहाँको भनाइ छ । उहाँले नेपाल जल तथा मौसमजन्य विपत्को सधैँ जोखिममा रहेकाले त्यसबाट हुन सक्ने जोखिम र क्षति कम गराउन प्रोटोकल तयार गरिएको जानकारी दिनुभयो । विभागका विनोद पराजुलीले एउटै सूचना छिटोछरितो रूपमा दिनका लागि अहिले सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।