• १५ मंसिर २०८२, सोमबार

अप्पर अरुण जलविद्युत् आयोजना

जनतालाई पैँतिस अर्बको सेयर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते । अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जनताका लागि ३५ अर्ब २४ करोड ८६ लाख रुपियाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । जनताको जलविद्युत् कायक्रम अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न लागेको आयोजनामा ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइने भएको हो । एक हजार ६३ मेगावाटको सो आयोजनामा लगानी हुने ३० प्रतिशत स्वपुँजीमध्ये सो बराबरको सेयर सर्वसाधारणले पाउने भएका हुन् । प्राधिकरणको सञ्चालक समितिले बिहीबार यो प्रस्ताव स्वीकृत गरेको हो । 

आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल लगानी दुई खर्ब ३९ अर्ब ७९ करोड रुपियाँ रहेको छ । जसमा स्वपुँजी (इक्विटी) ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रुपियाँ रहने छ । यसै रकममध्ये ३५ अर्ब २५ करोड रुपियाँ सेयरमार्फत सङ्कलन गर्न लागिएको हो ।

कुल लागतको ७० प्रतिशत अर्थात् एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ ऋण रहने गरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ । 

सर्वसाधारण समूह अन्तर्गत गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारका लागि (१८ प्रतिशत) १२ अर्ब ९५ करोड रुपियाँ बराबर र देशभरका सर्वसाधारणका लागि पनि त्यति नै रकम बराबरको सेयर जारी गरिने उल्लेख छ । सङ्खुवासभावासी तथा स्थानीय प्रभावित समुदायका लागि (१० प्रतिशत) सात अर्ब १९ करोड, पिछडिएका क्षेत्रको जनताका लागि एक अर्ब ४३ करोड ८० लाख र प्रवर्धक निकायका कर्मचारीका लागि ७१ करोड ९३ लाख रुपियाँ बराबरको सेयर जारी गर्ने तय भएको छ । 

वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अप्पर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत् प्राधिकरणमा पेस गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठक कम्पनीको उक्त प्रस्तावलाई अनुमोदन गरी आवश्यक निर्णयका लागि सरकार समक्षपेस गर्ने निर्णय गरेको छ । 

मन्त्री घिसिङले आयोजनामा गैरआवासीय नेपाली, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, देशभरका सर्वसाधारणलगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा अप्पर अरुणको वित्तीय व्यवस्थापन गर्न लागिएको बताउनुभयो । “वित्तीय व्यवस्थापन जतिसक्दो छिटो सम्पन्न गरी आयोजनालाई निर्माणमा लैजाने गरी प्रक्रिया अगाडि बढिरहेको छ,” उहाँले भन्नुभयो ।  

यस्तो छ संस्थापक सेयरको संरचना संस्थापन समूहबाट सो आयोजनामा ३६ अर्ब ६९ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य छ । 

आयोजनामा लगानी हुने स्वपुँजीका लागि पनि हिस्सा निर्धारण भइसकेको छ । प्रस्ताव अनुसार प्रवर्धक कम्पनीमा सबैभन्दा धेरै नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत संस्थापक सेयर अर्थात् २९ अर्ब ४९ करोड रुपियाँको लगानी रहने छ । दुई÷दुई प्रतिशत प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष एवं बिमा तथा पुनर्बिमा कम्पनी, एक प्रतिशत नागरिक लगानी कोष, एचआइडिसिएल, प्रदेश एवं स्थानीय सरकारको र ०.५/०.५ प्रतिशत नेपाल टेलिकम तथा सामाजिक सुरक्षाको कोषको संस्थापक लगानी रहने छ ।   

आयोजनाको निर्माणका लागि प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड स्थापना भइसकेको छ । आयोजनाको निर्माण पूर्वचरणमा हालसम्म भएको सम्पूर्ण लगानी प्रबन्ध प्राधिकरणबाटै भइरहेको छ । आयोजना जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत भएको छ । त्यसैले कुल इक्विटीमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरधनी कायम गरिएको हो  । 

आयोजना सम्पन्न गर्न एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ ऋण आवश्यक पर्ने देखिएको छ । आन्तरिक स्रोतबाट वित्तीय प्रबन्ध गर्ने र आयोजनामा सरकारबाट ऋण लगानी नहुने गरी वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको छ ।