• ११ मंसिर २०८२, बिहिबार

पोखरामा शनिबार दाइँ महोत्सव हुने

blog

बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाइँ महोत्सवबारे जानकारी दिनुहुँदै कार्यक्रम संयोजक हरि भुजेल । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ११ गते । ठाउँ ठाउँमा रोपाइँ महोत्सव गर्दै आएको पर्यटन राजधानी पोखरामा दाइँ महोत्सव हुने भएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले यही मङ्सिर १३ गते शनिबार दाइँ महोत्सव गर्न लागिएको हो । 

पोखराका पर्यटन सम्वद्ध सङ्घ, संस्थाको छाता सङ्गठन पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा महानगरपालिका वडा १९, पुरुञ्चौर चुरुङ्गामा दोस्रो सस्करणको दाइँ महोत्सव गर्न लागिएको हो । महोत्सवमा आठ सयदेखि एक हजार स्वदेशी र विदेशी पर्यटक तथा स्थानीय सहभागी हुने अपेक्षा गरिएको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक हरि भुजेलले महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादन प्रतियोगिता, धान चुट्ने, परालको भारी बाँध्ने, गुन्द्री बुन्ने लगायतका प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगिताका विजेता, उपविजेता र तृतीयलाई नगद पुरस्कार दिइने उहाँको भनाइ छ । 

एक उत्कृष्ट गोरु पालक किसान र महानगरभरिबाट धेरै धान उत्पादन गर्ने एक किसानलाई समेत नगदसहित सम्मान गरिने भएको छ । “गत वर्षदेखि सुरु भएको यो महोत्सवले कृषि पर्यटन प्रवर्धन, परम्परागत कृषि प्रणाली संरक्षण तथा कृषक सम्मानलाई जोड दिएको छ,” संयोजक भुजेल भन्नुहुन्छ, “युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्दै कृषकको मनोबल बढाउन सघाउने हाम्रो अपेक्षा छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी खेतीयोग्य जमिन मासिँदै गएको परिवेशमा यो महोत्सवले खेतीको महत्व दर्साउने भनाइ राख्नुभयो । नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख मणिराज लामिछाने दाइँ महोत्सव पर्यटकका लागि नयाँ आकर्षण बन्ने उल्लेख गर्दै यस खालका गतिविधिले पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो । 

पोखरा १९ का किसान दयाराम गौतम यस्ता महोत्सवले नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीको देखाउँदै पर्यटकलाई स्थानीय संस्कृति, परम्परा र कृषि अभ्यासबारे जाकारी दिने बताउनुभयो । महोत्सव स्थलसम्म जान, आउनका लागि आयोजकले यातायातको व्यवस्थासमेत गरिएको जनाएको छ ।