खेमराज सापकोटा
रानी, मङ्सिर ११ गते । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ । बिहीबार विराटनगरमा आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्कको ८ औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो ।
देशभरका कृषि विकास बैङ्कका शाखाका प्रतिनिधि सहभागी भएको कार्यक्रममा नेता गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताउनुभयो ।
उहाँले कर्मचारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकार तयार हुनुपर्नेमा जोड दिँदै कृषि विकास बैंकले किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्षता नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्कका अध्यक्ष राम रावलले गर्नुभएको थियो । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू, नेता गुरुराज घिमिरे लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।