• ११ मंसिर २०८२, बिहिबार

लैङ्गिक हिंसा अन्त्य गर्न ‘महिला पुरुष साझा अभियान’

blog

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर ११ गते । लैङ्गिक हिंसा अन्त्य गर्न महिला–पुरुषले साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । 

लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानअन्र्तगत अल्पकालिन महिला सेवा केन्द्र र बागलुङ नगरपालिका वडा २ को वडास्तरीय लैङ्गिक हिंसा निगरानी समूहद्वारा बिहिबार आयोजित ‘सचेतनामुलक कार्यक्रम’का सहभागीहरुले हिंसाविरुद्द महिला पुरुषको सहकार्यको आवस्यकता औँल्याएका हुन् । 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख राजु खड्काले हिंसा नै नहुने गरी घरघरमा सचेतनाको अभियान लैजान आवस्यक भएको बताउनुभयो । घरघरमा हिंसा नभए समाजमा पनि हिंसाका घटना नआउने उहाँको भनाइ छ । ‘‘सबै प्रकारका हिंसाको अन्त्य गर्न महिला–पुरुष दुवैले साझा अभियान बनाएर सचेतनामुलक कार्यक्रम गर्नुपर्छ’’ खड्काले भन्नुभयो ।  

कार्यक्रमका सहभागीहरुले मोबाइल फोनको सही प्रयोग गर्न नसक्दा पनि साइबर अपराध बढेको र त्यसले महिला र बालबालिकाहरु बढी हिंसामा परेको बताएका छन् । उनीहरुले समाजमा बेमेल बढ्नु र अपराधिक घटना बढ्नुमा मोबाइलको गलत प्रयोग भएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक तथा महिला सेलकी प्रमुख श्रद्धा कुँवर, महिला अधिकारकर्मी लक्ष्मी बोहोरा, धौलागिरि अस्पतालमा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्रकोे तर्फबाट डा. सन्दीप केसीले सहभागिलाई अभिमुखीकरण गराउनुभएको थियो । कार्यक्रममा आमा समूहका पदाधिकारी, सामाजिक संस्थाका प्रमुख, स्थानीय महिला, पुरुष र वडा सदस्य, कार्यपालिका सदस्य सहभागि थिए । 

नगरपालिकाले १६ दिने अभियानलाई वडा तहसम्म लैजाने अभियान बनाएको छ । पहिलो दिन नगरस्तरीय कार्यक्रम भएकोमा १४ दिनसम्म हरेक वडामा लैंगिक हिंसा, मानसिक स्वास्थ्य, ओसिएमसीको सेवा प्रवाहको विषयमा सचेतना कार्यक्रम गरिंदै आएको छ । 

अभियानको अन्तिम दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवससहित अभियानको समापन गरिने कार्यक्रम रहेको नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो । त्यस बाहेक गैरसरकारी संस्था, सामाजिक संस्था समेतले यो अभियानमा विभिन्न कार्यक्रम गर्ने बताएका छन् । फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले अभियानमा सहयोग गर्दै आएका छन् ।