• ११ मंसिर २०८२, बिहिबार

चीनको सुचाउ महानगर र बर्दघाट नगरपालिकाबिच 'भगिनी सम्बन्ध'

blog

चीनको सुचाउ महानगरपालिकाको टोली बर्दघाट नगरपालिकामा ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, मङ्सिर ११ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्नेबारे छलफल भएको छ । शिक्षा, स्वास्थ्य, प्रविधि, व्यापार र संस्कृति लगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले यो सम्बन्ध अगाडि बढाउन लागिएको हो।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले यो सम्बन्ध बर्दघाटको विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, यस सम्बन्धले दुई नगरबिच प्रविधि र ज्ञानको आदानप्रदान भई नगरवासीले प्रत्यक्ष लाभ पाउनेछन्।

'सुचाउ जस्तो विकसित महानगरसँगको भगिनी सम्बन्धले हामीलाई पूर्वाधार विकास, प्राविधिक शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्न ठुलो सहयोग पुग्ने छ,' नगर प्रमुख श्रेष्ठले भन्नुभयो।

सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई र नेपाली चिकित्सक डा. केशव कुँवर सहितको टोलीले नगरको स्वास्थ्य संस्था र क्याम्पसहरूको स्थलगत अवलोकन गरेको छ।

"नगरको समग्र विकासका लागि हामी यो सम्बन्धलाई द्रुत गतिमा अगाडि बढाउँदै छौँ। यो सम्बन्ध स्थापनापछि दुवै नगरको विकासका लागि साझा योजना बनाई काम गरिने छ," प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले विशेषगरी प्राविधिक शिक्षा र स्वास्थ्य सुविधाको स्तरोन्नतिका लागि सुचाउको सहयोगको अपेक्षा गरिएको बताउनुभयो।

प्रोफेसर चाङ वाईले यसअघि पोखरा महानगरपालिका र सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गराउन नेतृत्व गर्नुभएको थियो।भ्रमण टोलीलाई नगरपालिकाको विकासका प्राथमिकता र आवश्यकताका बारेमा जानकारी गरिएको भएको थियो।