• १४ पुस २०८२, सोमबार

आठौँ सामाजिक सुरक्षा दिवस

श्रमिकको सामाजिक सुरक्षालाई बोझको रूपमा हैन, शानको रूपमा लिऊँ : प्रधानमन्त्री

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयाेजित आठौँ सामाजिक सुरक्षा दिवस । तस्बिर : सागर बस्नेत ।

सामाजिक न्यायका लागि परिपूर्ण सामाजिक सुरक्षा अनिवार्य

योगदानमा आधारित सामाजिक सुरक्षा—समतामूलक समाज निर्माणको आधार

औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकका मुद्दा सम्बोधन गर्न प्रतिबद्धता

कोषको रकम न्यायोचित प्रतिफलसहित आन्तरिक पुँजीका रूपमा प्रयोग गर्ने तयारी

काठमाडाैँ, मङ्सिर ११ गते । 'सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइएकाे छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूलमन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाइएको हो । 


प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको आठौं सामाजिक सुरक्षा दिवसको बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय 

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिएकाे छ । आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित सामाजिक सुरक्षा दिवस कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्माननीय प्रधानमन्त्री कार्कीले मन्तव्य दिनुभएको हाे ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिक–कर्मचारीका पक्षमा कोष स्थापना भएको स्पष्ट गर्दै सामाजिक सुरक्षा योजनामा आबद्धता वृद्धि र निरन्तरता तथा जनचेतना अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष जगत सिङ्खडाले सामाजिक सुरक्षा योजनालाई अझ परिष्कृत गर्दै योगदानकर्तामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षा योजनाको पूर्णकार्यान्वयन नहुँदा आमश्रमिक सामाजिक सुरक्षाबाट वञ्चित हुँदै आएको उल्लेख गर्दैै अध्यक्ष सिङ्खडाले अनौपचारिक क्षेत्रका श्रमिकको योगदान रकममा साझेदारी गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसतर्फ सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिँदै कोषको सेवा ‘डिजिटलाइजेसन’ र दायरा विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को नेपाल निर्देशक नुमान ओज्कानले नेपालमा असल श्रम सम्बन्धको वातावरण बनाउन सङ्गठनले काम गरिरहेको बताउनुभयो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिक क्षेत्रका छ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक योजनामा आबद्ध भइसकेका जानकारी दिनुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, गोरखापत्र संंस्थान, सार्वजनिक प्रशारण सेवा नेपाल, प्रेस काउन्सिल नेपाल र सामाजिक सुरक्षा कोषबीच मातहतका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने बारेमा समझदारी भएको थियो ।

कोषका अनुसार बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका छन् । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । उल्लेखित योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा र सहुलियत प्राप्त गर्दै आइरहेको कोषले जनाएको छ ।

कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदानमा आधारित रकम सङ्कलन भइसकेको छ । कोषबाट दुई लाख ५३ हजार १४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिएका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाको अतिरिक्त बचतको व्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।

 सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूबाट आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा व्यक्त गर्नु भएको मन्तव्यको पूर्णपाठ :

आज आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमका अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यू, 

उपस्थित माननीय मन्त्रीज्यूहरु, 

सचिवज्यूहरु, 

अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिज्यूहरु, 

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका प्रतिनिधिज्यूहरु, 

रोजगारदाताका प्रतिनिधिज्यूहरु, 

राष्ट्र सेवक कर्मचारी साथीहरु र सञ्चारकर्मी मित्रहरु,

यहाँहरु सबैमा आठौं सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

मेरो न्याय क्षेत्रमा लामो समय काम गरेको अनुभवको आधारमा सामाजिक न्यायको बारेमा परिचित नै भइँदोरहेछ तर मेरो बदलिँदो भूमिकाको जिम्मेवारी नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने रहेछ।

हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ।यसको सफल कार्यान्वयबाट नै हुनेले नहुनेलाई, धनीले गरीबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रुपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने रहेछ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ यसैको एउटा त्रिपक्षीय संयोजन रहेछ।जसको  सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र आजको नारामा उल्लेख भए अनुसार समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिन्छ।

एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न यहाँहरुले उठान गर्नु भएको विषयहरुलाई यो सरकारको छोटो कार्यकालमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपस्थित मन्त्रीज्यूहरुसँग छलफल भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु।

मूलतः यहाँहरुको वर्षौँको अनुभवको आधारमा प्राथमिकतामा राख्नुभएका विषयहरु, जस्तै( औपचारिक क्षेत्रको अनिवार्य आबद्धताको कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कानुनी रुपमा गर्नुपर्ने सह(योगदानमा संघीय सरकारले कति गर्ने, सरकारी करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस कसरी गराउने र कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयहरुलाई कसरी स्पष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी राज्यप्रति नागरिकको अपनत्व सिर्जना हुने गरी सम्बोधनको लागि वातावरण तयार गर्ने विश्वास दिलाउन चाहन्छु।

साथै म जुनसुकै भूमिकामा भए पनि यहाँहरुको सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु।

साथै म निजी क्षेत्रलाई पनि आग्रह गर्न चाहन्छु कि आफ्ना श्रमिक(कर्मचारीहरुको सामाजिक सुरक्षालाई बोझको रुपमा नलिऊँ, यसलाई शानको रुपमा लिऊँ। 

दिन प्रतिदिन आकार बढ्दै गएको कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गम्भीरतापूर्वक अहिले नै गृहकार्य गर्नु आवश्यक छ। प्रत्येक श्रमिकले र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्दछ।  

अन्त्यमा, पुनः यस दिवसको सन्दर्भमा यस समारोहका आयोजक तथा उपस्थित व्यक्तित्वहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्दै समृद्ध नेपाल निर्माणमा सामाजिक सुरक्षा प्रणालीमार्फत आन्तरिक पूँजी निर्माणको आयाममा महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभेच्छासहित, यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु।


प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्य ।