• ११ मंसिर २०८२, बिहिबार

सवारी दुर्घटनामा पाँच जना घाइते

blog

कान्ति लोकपथ सडक खण्डस्थित क्याम्पाडाँडामा दुर्घटनाग्रस्त स्कुटर र जिप । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ११ गते । मकवानपुरको हेटौँडामा भएको फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते हुनुभएको छ । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते हुनुभएको छ । 

बुधबार साँझ हेटौँडाबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००६ प. २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौँडा आउँदै गरेको बा. ३ च. २२४ नम्बरको ल्यान्डक्रुजर गाडीले ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक हेटौँडा –६ हात्तिलेटका २६ वर्षीय युवराज अधिकारी र पछाडि सवार ३० वर्षीय नारायण अधिकारी घाइते हुनुभएको छ ।

उहाँहरुको टाउको र अनुहारमा चोट लागेको छ । हेटौँडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चुरेहिल अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । 

दुर्घटनामा संलग्न जिप र चालक, ललितपुर महालक्ष्मी नगरपालिका–६, सानागाउँका ६१ वर्षीय गङ्गा लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ । यसैगरी, हेटौँडा–२, मानसचोकमा दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते हुनुभएको छ । 

कांग्रेस चोकबाट कान्ति लोकपथतर्फ जाँदै गरेको ना. ३३ प. ७२८१ नम्बरको मोटरसाइकल र फापरबारी बसपार्क तर्फबाट पुरानो मकवानपुर रोडतर्फ जाँदै गरेको अर्को बा.प्र.०३–००६ प. २४३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा रत्ननगर–१४, चितवन घर भइ हाल मकवानपुर हेटौँडा उपमहानगरपालिका–४, थाहाचोक बस्ने ३८ वर्षीय रामशरण कुँवर घाइते हुनुभएको छ । उहाँको बाँया काँधमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, हेटौँडा–१९, शान्नानीटारका २७ वर्षीय उसव खड्का र पछाडि सवार २५ वर्षीय सन्देश डङ्गोल घाइते हुनुभएको छ । उहाँँहरूको नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ ।