टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), मङ्सिर ११ गते । गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत तीन वटा स्वास्थ्य संस्थामा पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन भएको थियो । सत्यवती गाउँपालिकाका जोहाङ्ग, जुनियाँ र लिम्घा स्वास्थ्यचौकीमा भएका शिविरमा १९३ जना महिलाले सेवा लिएका थिए ।
जसमा ४१ जना महिलालाई पाठेघर खस्ने समस्याको उपचार गरिएको र सात जनालाई थप उपचारका लागि विशेषज्ञकोमा रेफर गरिएको सत्यवति गाउँपालिकाका स्वास्थ्य संयोजक हिमलाल भण्डारीले जानकारी दिनुभयो ।
शिविरमा आएका महिलामध्ये अधिकांशमा पाठेघरकै समस्या देखिएकाले रिङ्गप्रेसरी राख्ने र औषधी प्रदान गरिएको थियो । सत्यवती गाउँपालिकाका १४ स्वास्थ्य संस्था छन् ।
एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सात स्वास्थ्यचौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र पाँचवटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् । भण्डारीका अनुसार भार्से स्वास्थ्यचौकी, जुनियाँ स्वास्थ्यचौकी, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लिम्घा स्वास्थ्यचौकी, ठूलोलुम्पेक स्वास्थ्यचौकी र अस्लेवा स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर छन् ।
मापदण्डअनुसार तीन सामुदायिक स्वास्थ्य केन्द्र बाहेक सवै स्वास्थ्य संस्थाका आफ्नै भवन छन् । आउने पुस महिनाभित्र पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गर्ने योजनासाथ वडास्तरमा काम भइरहेको स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो ।
निःशुल्क आँखाको मोतियाबिन्दुको शिविर, स्वास्थ्य बिमा तथा आयुर्वेद औषधालय स्थापना र सञ्चालनको काम गाउँपालिकाले गरिरहेको छ । सत्यवती गाउँपालिका उपप्रमुख निरमाया तरामुले स्वास्थ्य महत्वपूर्ण भएकाले रोग पालेर बस्न नहुने बताउनुभयो ।
उहाँले हरेक वर्ष ३० देखि ५० वर्ष उमेरका आमा तथा दिदिबहिनीलाई लक्षित गरेर पाठेघर र स्तन क्यान्सरको परीक्षण गरिरहेकाले स्वास्थ्य समस्या देखा पर्नुभन्दा पहिले चेकजाँचमा लाग्न आग्रह गर्नुभयो । कामको व्यस्तता, लाज र सचेतनाको अभावका कारण पाठेघरको समस्यासँग कैयन् आमाहरु जुधिरहनु परेकाले बेलैमा जोगिन आग्रह गर्नुभयो ।