यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) मङ्सिर ११ गते । बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ । गुलरिया नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा राजापुर नगरपालिकाको अक्सिडेन्टल एकेडेमिका बालबालिकाले नाचेको लठवा नाच मुख्य आकर्षण बनेको हो ।
पछिल्लो समयमा आधुनिक, पप र हिपहप गानामा आकर्षित हुने बालबालिकाहरू थारू जातीको मौलिक बाजा सहित सांस्कृतिक पहिरनमा नाच्न थालेका पछि कार्यक्रमका अतिथि र सहभागीहरू मोहित भएका थिए । विभिन्न गीत मिक्स गरेर बनाइएको नाच भन्दा आफैँले बजाएको मादलको तालमा लट्ठी नचाईनचाई नाचेको हेर्दा निक्कै रोमाञ्चक देखिएको छ ।
लठवा नाचमा २० जना केटी र दुई जना केटा गरी २२ जनाको समूह थियो । नाचमा थारू समुदायका बालबालिकाहरू मात्र नभएर मुस्लिम समुदायसँगै अरु समुदायका बालबालिकाहरू पनि छन् । थारू समुदायको परम्परागत नाँच भएपनि नाच्न निक्कै रमाइलो लाग्ने बालिका सोराया खानले बताउनुभयो । मादलको तालमा लठ्ठी जुधाउँदै नाच्ने भएको हुनाले रमाइलोसँगै अनुशासनको पाठ सिकिने उहाँले बताउनुभयो ।
अक्सिटेन्डल एकेडेमिमा वर्षैभरि सङ्गीत र नाच सिकाइने प्रधानाध्यापक बिन्द्रा केसीले बताउनुभयो । उहाँले नाच र सङ्गीतका लागि अहिले विद्यालयमा ६० जना विद्यार्थीको टोली बनेको बताउँदै विद्यार्थीको रुचि र क्षमताको आधारमा विभिन्न नाच नाच्ने गरेको बताउनुभयो । विद्यार्थीहरुले थारू, मगर, गुरुङ् संस्कृतिका नाच, डेउडा र टप्पा लगायतका विभिन्न नाच नाच्ने गरेका छन् ।
नाच शिक्षक रिखिराम चौधरीका अनुसार थारू समुदायका लठवा, सखिया, झुम्रा, अरु समुदायको कौडा, टप्पा, डेउडा, मारुनी जस्ता नाचहरूमा विद्यार्थीहरूको रुचि बढिरहेको छ । उहाँले भन्नुभयो, “आधुनिक, पप गीतभन्दा पनि सांस्कृतिक र परम्परागत नाचमा बढी जोड दिने गरेका छौँ ।” नगरपालिकाले आयोजना गरेका कार्यक्रम, शैक्षिक कार्यक्रम, माघी मेला लगायतका कार्यक्रममा प्रस्तुतिका लागि विद्यार्थीहरू जाने गर्दछन् । राजापुर नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्गशिल्ड तथा मेयरकप खेलकुद प्रतियोगितामा लठवा नाच प्रस्तुत गरिएपछि गुलरिया नगरपालिकाको कार्यक्रममा प्रस्तुतिका लागि बालबालिकाहरूलाई निमन्त्रणा गरिएको थियो ।
विशेषगरि पशुचौपाया चराउन जाँदा सुरक्षाका लागि लट्ठी नचाइने र त्यही लट्ठी नचाउने कलालाई समेटेर लठवा नाच नाचिने परम्परा सुरु भएको थारू अगुवाहरू बताउनुहुन्छ ।