रेखीराम राना
तानसेन, मङ्सिर ११ गते । विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।
प्रतिष्ठानद्वारा स्थापित ग्रामीण पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द भट्टराईलाई, रेडियो पत्रकरिता पुरस्कार नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याललाई र साहित्य पुरस्कार साहित्यकर्मी नीलकण्ठ न्यौपानेलाई प्रदान गरिएको छ ।
सो अवसरमा विनय कसजू बाल साहित्य सम्मान शान्तदास मानन्धर, महिला सशक्तीकरण सम्मान सुशीला श्रेष्ठ र पाल्पाको समकालीन पत्रकारिता सम्मान झपेन्द्र गहिरेलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष गङ्गा कसजूले दिवङ्गत श्रीमान् विनय कसजूलाई स्मरण गर्दै सम्मानित र पुरस्कृत पात्रहरूलाई बधाई दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कसजूले सूचनाको हकको अभियन्ता, वरिष्ठ पत्रकार तथा साहित्यकार र पर्यटनविद् भई देशको लागि महत्वपूर्ण योगदान गर्नुभएको स्मरण गर्नुभयो । विशिष्ट अतिथि तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले राष्ट्रिय व्यक्तित्व विनय कसजूको सम्मानमा नगरपालिकाले यथोचित निर्णय गर्ने बताउनुभयो ।
कसजूका समकालीन तथा सहकर्मी हेमबहादुर बिष्टले कसजूले पाल्पा र काठमाडौँमा रहेर गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य, विजय सागर, बुद्धिप्रसाद शर्मा, कमल मलेगो, सोमनाथ अर्यालले उहाँको योगदानको चर्चा र स्मरण गर्नुभएको थियो ।