सुनसरी, मङ्सिर १० गते । शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित सामाजिक रूपान्तरणका कार्यक्रममार्फत २५ वर्षदेखि सक्रिय ग्रामीण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले निर्माण गरेको १०० वटा सुरक्षित आवास आज एक विशेष समारोहका बिच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउन्डेसनको आर्थिक सहयोगमा सुनसरीका दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रमा रहेका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहिन परिवारहरूका लागि यी घर निर्माण गरिएको हो।
१०० सुरक्षित आवास निर्माण सम्पन्न २०७८ कार्तिक १६ गते शिलान्यास गरिएको सुरक्षित आवास परियोजना अन्तर्गत निर्माण भएका घरको दुहवी नगरपालिका १ वडा नम्बरमा १४ घर ,गढी गाउँपालिका २ मा ४० घर, बर्जु गाउँपालिका वडा नम्बर १, ३, ५ मा ३० घर, इनरुवा नगरपालिका वडा नम्बर ७ मा १६ घर कुल १०० भूकम्प–प्रतिरोधी, वातावरणमैत्री आवास निर्माण सम्पन्न भएको मञ्चले जनाएको छ।
भूकम्प प्रतिरोधी नमूना आवास प्रत्येक घरमा २ शयनकक्ष, १ भान्सा ,१ शौचालय खानेपानीका लागि हातेधारा सहितको तीन कोठे सुरक्षित संरचना निर्माण गरिएको छ।
सुनसरी क्षेत्र नम्बर ३ की सांसद पूर्वमन्त्री तथा महिला अधिकारवादी नेतृ भगवती चौधरीको पहल र निरन्तर समन्वयमा सुरु गरिएको सुरक्षित आवास अभियान एक वर्षमै सफलतापूर्वक सम्पन्न हुँदै छ।
गढी गाउँपालिका–२, कोलर्हवा सामुदायिक ग्राममा आयोजित घर हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य, दातृ संस्था तथा परियोजना सरोकारवालाको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले विपन्न तथा भूमिहिन परिवारको अनुहारमा आशा, सुरक्षाको भावना र खुसीयालीको नयाँ उज्यालो ल्याएको छ।