पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, मङ्सिर १० गते । पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि 'कृषि उद्योग व्यापार, कला र संस्कृति समग्र सुनवलको समृद्धि' भन्ने मूल नाराका साथ पाँचौँ सुनवल महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घ सुनवलको आयोजनामा सुनवलको सोमनाथ हाट बजारमा सुरु भएको यो महोत्सव मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा घरेलु तथा साना मझौला उद्योगदेखि ठूला उद्योग, विदेशी वस्तु तथा पहाडी कृषिजन्य वस्तु समेटिएका करिब २०० व्यावसायिक स्टल छन्। उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश कर्माचार्यका अनुसार मेलाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ता, उत्पादक, वितरक र निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेला गराई सुमधुर सम्बन्ध स्थापना गर्ने लक्ष्य लिएको छ। आयोजकले यस अवधिमा एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखेको छ।
सङ्घका महासचिव तेजप्रसाद भण्डारीका अनुसार मेलाको मुख्य आकर्षणहरूमा अन्तर्राष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटनसम्बन्धी प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, हस्तकला र तयारी पोशाकको प्रदर्शनी छन्। यसका साथै सेमिनार तथा अन्तरक्रिया कार्यक्रम र बाल उद्यानलाई पनि आकर्षणका रूपमा राखिएको छ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ भने विज्ञान प्रर्दशनी पनि समावेश गरिएको छ। सङ्घका उद्योग उपाध्यक्ष ईश्वरी भण्डारीले विभिन्न जातजातिका खाना परिकारहरू समेटिएको 'खाना महोत्सव' पनि यस मेलाको अन्य मुख्य आकर्षण रहेको जानकारी दिनुभयो।
महोत्सव अवधिभर सेल्फी जोनको व्यवस्था गरिएको छ। मेला अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ७० को टिकट दर तोकिएको छ। यस्तै, सामूहिक रूपमा मेला अवलोकन गर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सबैभन्दा महत्त्वपूर्ण, ६८ वर्षभन्दा माथि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकहरूका लागि भने शतप्रतिशत निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।