- ३९ महिना भित्र सब स्टेसन र २१ महिना भित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ ।
विकास अधिकारी
पश्चिम नवलपरासी, मङ्सिर १० गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ ।
एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३, सूर्यबस्तीदेखि नेपाल–भारत सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको हो ।
सो क्रममा अर्थमन्त्री खनालले एमसिसी परियोजनाले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने बताउँदै अमेरिकी सरकारको सहयोगको प्रशंसा गर्नुभयो ।
मन्त्री खनालले अब तीन वर्ष पनि पूरा समय बाँकी नभएकाले समयमै काम सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।

विद्युत् प्रसारण लाइनको बहुआयामिक महत्त्व रहेको बताउँदै नेपालमा आन्तरिक बजारमा आवश्यक भएको बेला आयात गर्न र दक्षिण एसियामा ऊर्जा बजारमा नेपालको सशक्त उपस्थिति बढाउन यो परियोजना कोसेढुङ्गा सावित हुने खनालको भनाइ छ ।
अमेरिक राजदूत थम्प्सनले नेपालको हरित ऊर्जा सुरक्षामा यो परियोजनाले सहयोग पुग्ने बताउँदै अमेरिकाले नेपालसँगको सहकार्यमा प्रविधि र लगानीमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
थम्प्सनले आर्थिक वृद्धि र दक्षिण एसियामा विद्युत् व्यापारका लागि यो परियोजना महत्त्वपूर्ण हुने उल्लेख गर्दे अमेरिका नेपालको दिगो सहयात्रीको रूपमा उभिँदै आएको बताउनुभयो ।
सुनवलदेखि भारत सीमा नाकासम्म ५३ वटा टावर निर्माण हुने एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो । जसको मुआब्जा वितरण भइसकेको एमसिए नेपालले जनाएको छ । ३९ महिना भित्र सब स्टेसन र २१ महिना भित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ ।
